देश/प्रदेश
पोखरामा शव पहिचान र परीक्षण सुरु

गण्डकी, भदौ १२-
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा परीक्षणको काम सुरु भएको छ । नवलपुर, गोरखा, धादिङ र तनहुँमा भेटिएका ९३ शव यस अस्पतालमा राखिएको छ । नौ वटा मणिपाल शिक्षण अस्पतालमा छन् । शव पहिचानका लागि आफन्तलाई स्क्रिनमा तस्बिर हेर्न व्यवस्था मिलाइएको छ । बाढीमा बेपत्ता भएकाका आफन्तहरू अस्पतालमा पुगेर शव पहिचान गर्ने प्रयासमा छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार शव परीक्षण गरी पहिचान भएका शव आफन्तलाई बुझाइनेछ । पहिचान हुन नसकेका शवको ‘डिनए’ परीक्षणका लागि नमुना काठमाडौँ पठाइने उहाँको भनाइ छ । “शवको तस्बिर आफन्तलाई हेर्ने व्यवस्था मिलाएका छौँ”, आफन्तले पहिचान गरेपछि कानुनी प्रकृया पूरा गरेर शव बुझाउँछौँ”, प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो, “शव हिलाम्मे भएकाले सफा गरेर मात्र परीक्षण गर्नुपर्ने अवस्था छ ।”
पहिचान हुन नसकी बेवारिसे बनेका शवलाई बेवारिसे शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको काम हुने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले शव व्यवस्थापनका लागि पोखराका अन्य अस्पतालसँग पनि समन्वय भइरहेको बताउनुभयो । “शव पहिचान तथा व्यवस्थापनका लागि काम सुरु भइसकेको छ”, प्रजिअ गुरुङले भन्नुभयो, “शवको सङ्ख्या धेरै भएकाले पहिचान गरी आफन्तलाई बुझाउन केही दिन लाग्न सक्छ ।”
त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको हो । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट १४ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको प्रजिअ गुरुङले बताउनुभयो । रासस
























