देश/प्रदेश
माछापालनबाट बार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी

सुनसरी, भदौ १२-
भीष्म अधिकारीले वार्षिक ५० लाख आम्दानी गर्न थाल्नुभएको छ । दश कट्ठा क्षेत्रफलबाट सुरु गर्नुभएको माछापालन १६ बिघामा पुगेपछि उक्त आम्दानी हुन थालेको हो । उहाँ बराहक्षेत्र नगरपालिका–९ का मेहनती किसान हुन् ।
उहाँले माछापालनबाट दाना, माछाका भूरा, कर्मचारीलगायत खर्च कटाएर वार्षिक रु ५० लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विसं २०५२ मा दश कट्ठाबाट माछापालन सुरु गर्नुभएका अधिकारीले हाल १६ बिघा क्षेत्रफलमा ३० वटा पोखरी निर्माण गरी सात प्रजातिका माछा पाल्दै आउनुभएको छ ।
अधिकारीले रौ, नैनी, भाकुर, कमन, ग्रासलगायत सात प्रजातिका माछा पाल्दै आउनुभएको छ । पोखरीमा उत्पादित माछा सुनसरीका इनरुवा, लौकही, कालाबञ्जर, इटहरी, झुम्कालगायतका बजारमा बिक्री हुने गरेको छ । अधिकांश व्यापारी पोखरीमै आएर माछा खरिद गरी लैजाने गरेका छन् । पोखरीबाट प्रतिकेजी रु २५० देखि रु।३०० मा बिक्री हुने गरेको बताउनुभयो ।
उहाँका अनुसार करिब दुई किलो दाना खुवाउँदा एक किलो माछा उत्पादन हुने गरेको बताउनुभयो । माछाको दाना प्रतिकेजी रु १६० देखि रु १७० सम्म पर्छ । उहाँले माछाका भूरा निजी फार्मबाट ल्याउने गर्नुभएको छ । भूराको मूल्य प्रतिकेजी रु ५०० देखि रु ५५० सम्म पर्ने गरेको छ । कोशी प्रदेशमा सरकारी माछा भूरा उत्पादन फार्म नहुँदा सरकारी निकायबाट भूरा उपलब्ध हुन नसकेको जानकारी दिनुभयो ।
सरकारले माछापालनका लागि आवश्यक भूरा र दाना सहज रूपमा उपलब्ध गराउन सके किसानलाई थप प्रोत्साहन मिल्ने र उत्पादन बढाउन सकिने अवस्था छ । विशेषगरी बराहक्षेत्र–८, ९ र ११ मा माछापालक किसान बढ्दै गएका छन् । नगरपालिकामा करिब ३०० घरधुरीले माछापालन गर्दै आएका छन् भने एक हजार ३०० भन्दा बढी पोखरी रहेको अधिकारीले बताउनुभयो ।
कोशी नदी किनारलाई कृषि पर्यटन (एग्रो टुरिजम) सँग जोडेर थप विस्तार गर्ने योजना बनाएको बताउनुभयो । माछापालनसँगै पोखरी क्षेत्रलाई पर्यटकीय गतिविधिसँग जोड्न सके स्थानीय उत्पादनको बजारीकरणसँगै रोजगारी र आम्दानीका अवसरसमेत बढाउन सकिने उहाँको भनाइ छ । रासस
























