देश/प्रदेश

भोटेकोशी बाढीः तमानखोलाका नौ जना सम्पर्कविहीन

Banner
बागलुङ, भदौ ११ –
भोटेकोशीमा आएको बाढीपछि त्यहाँका जलविद्युत् आयोजनामा कार्यरत बागलुङका नौ जना सम्पर्कविहीन भएका छन् । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीका कारण बागलुङको तमानखोला गाउँपालिकाका नौ जना नागरिक सम्पर्कविहीन भएका तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।
माथिल्लो त्रिशूली जलविद्युत् आयोजना ९अपर त्रिशूली हाइड्रोपावर २१६ मेगावाट, ड्यामसाइड हाकुबेँसी० तथा सोही क्षेत्र आसपासमा कार्यरत नौ जना स्थानीय बाढीपछि सम्पर्कविहीन भएका उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष बुढाका अनुसार बाढीपछि  तमानखोला–१ का ३७ वर्षीय पदमबहादुर घर्तीमगर, सोही स्थानका ३२ वर्षीय इन्द्रकुमार विक, तमानखोला–१ रिक्लाङ्गका २२ वर्षीय विष्णु घर्तीमगर, तमानखोला–२, बोङ्गाखानीका ३७ वर्षीय भीमबहादुर छन्त्याल, सोही स्थानका ५० वर्षीय खड्क छन्त्याल, तमानखोला–३, तमानका २२ वर्षी सञ्जय शेर्पाली, सोही स्थनाका ५० वर्षीय दलप्रसाद बुढा, तमानखोला–४ लाममेलाका ५८ वर्षीय लाता कामी र सोही स्थानका ४७ वर्षीय भीमबहादुर विक सम्पर्कविहीन भएका छन् ।
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले अहिलेसम्म तमानखोलाबाट नौ जना सम्पर्कविहीन भएका जानकारी आएको बताउँदै अन्य पालिकाबाट पनि विभिन्न काम तथा भ्रमणमा गएका नागरिक हुनसक्ने आशङ्का गरिएको बताउनुभयो ।
यसैबीच, भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बागलुङको गलकोट नगरपालिकाले रु छ लाख ९० हजार राहतस्वरुप सहयोग पठाउने निर्णय गरेको छ । बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै गलकोट नगरपालिका, जनप्रतिनिधि र कर्मचारीका तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय गरिएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । उक्त रकम सरकारको कोषमा जम्मा गरिने छ ।
विपद्को यस कठिन घडीमा स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, सामाजिक सङ्घसंस्था, राजनीतिक दल, निजी क्षेत्र तथा नागरिकबीच सहकार्य र मानवीय सहयोग गर्न अपिलसमेत गरिएको छ ।  रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>