देश/प्रदेश
उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ, भदौ १०-
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई आफू रहेको वा बसेको स्थानबाट उद्धार टोलीको ध्यानाकर्षण गराउन आगोको धुवाँ निकालेर सङ्केत गर्न अनुरोध गरेको छ ।
प्राधिकरणले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्ला प्रभावित भएपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको जनाएको छ ।
यसैबीच, प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हेलिकप्टर तथा ड्रोनसँग सम्बन्धित सङ्घसंस्थालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी सहयोग गर्न विशेष अनुरोध गरेको जनाएको छ ।
प्राधिकरणले वायुसेवा सञ्चालक सङ्घ नेपाल, नेपाल ड्रोन सङ्घलगायत हेलिकप्टर र ड्रोनसँग सम्बन्धित सबै सङ्घसंस्थालाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको हो ।
प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान तथा सम्भावित जोखिमबाट सतर्क रहन तथा उद्धार टोलीसँग समन्वय गर्न आग्रह गरेको छ ।
प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महतले बाढी प्रभावित जिल्लामा उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो । रासस




































