देश/प्रदेश

बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो विनाशः राहत र उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्न सांसद लामाको माग

Banner

काठमाडौं, भदौ्र १० –

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले चीनको तिब्बतबाट भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो विनाश निम्त्याएको भन्दै खोज, उद्धार र राहतमा सम्पूर्ण राज्य संयन्त्र परिचालन गर्न सरकारसँग माग गरेकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लामाले बाढीका कारण बस्तीहरू डुबानमा पर्नुका साथै मुख्य सडक सञ्जाल र पुलहरू बग्दा जनजीवन अस्तव्यस्त बनेको संसद्लाई जानकारी गराइन् ।

संसद्मा बोल्दै उनले भनिन्, ‘आज बिहान चीनको स्वशासित क्षेत्र तिब्बतको जिलुङ नदी हुँदै नेपालको भोटेकोशी नदीमा आएको भीषण विनाशकारी बाढीबाट रसुवागढीको टिमुरे, स्याफ्रुबेँसी बजार, नेत्रावती बजार लगायतका स्थान प्रभावित भएका छन्। नुवाकोटस्थित त्रिशूली नदीमा रहेका झोलुङ्गे तथा पक्की पुलहरू बगाएको छ भने त्रिशूली बजार, ढुङ्गे, देवीघाट लगायतका बस्तीहरू जोखिममा परेका छन्। त्यस्तै धादिङको गल्छी गाउँपालिका वडा नं। ६ र १ जोड्ने झोलुङ्गे र पक्की पुलसहित केही भवनहरू बगाएको छ र बैरेनी बजार डुबानमा परेको छ। गजुरी गाउँपालिका–२ फुर्के खोलामा पृथ्वी राजमार्गलाई जिल्ला सदरमुकाम धादिङसँग जोड्ने मलेखुको पक्की पुल बगाउँदा धादिङबेँसीबाट पृथ्वी राजमार्गतर्फको आवागमन पूर्ण रूपमा बन्द भएको छ ।’

बाढीका कारण कैयौँ नागरिक बेपत्ता भएको र परिवारहरू विस्थापित हुनुपरेको भन्दै उनले सरकारले विपद् व्यवस्थापनमा कुनै कसर बाँकी राख्न नहुने बताइन् ।

उनले अगाडि भनिन्, ‘अहिलेको पहिलो प्राथमिकता भनेको प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु, बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई तीव्र बनाउनु र विस्थापित परिवारको सुरक्षित व्यवस्थापन गर्नु हो। यसका लागि राज्यको सुरक्षा संयन्त्र, विपद् व्यवस्थापन निकाय र वित्तीय तथा प्रशासनिक संयन्त्रहरूलाई सम्पूर्ण क्षमतामा परिचालन गर्न म सरकारसँग जोडदार आग्रह गर्दछु ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>