देश/प्रदेश

रिसाङका पहिरो प्रभावित ८८ घरधुरीलाई राहत सामग्री वितरण

Banner

जाजरकोट ,भदौ १०-

यही साउन ३० गते भएको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङका विभिन्न गाउँमा गएको पहिरोबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

पहिरोमा परी चार जनाको दुःखद निधन भएको थियो भने तीन जना गम्भीर घाइतेको नेपालगन्ज र काठमाडौंमा उपचार भइरहेको छ । पहिरो तथा जमिन भासिने क्रमका कारण चौपाया र बालीनालीमा समेत व्यापक क्षति पुगेको छ । पहिरोका कारण प्रभावित क्षेत्रका घरआँगनमा समेत बस्न नसक्ने अवस्था सिर्जना भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट गएको भूगर्भविद्सहितको अध्ययन टोलीले समेत पहिरो प्रभावित क्षेत्र मानव बसोबासका लागि जोखिमयुक्त रहेको जानकारी दिएको थियो ।

यसैबीच, पहाडी क्षेत्र विकास अभियान ९एचआरडीसी० जाजरकोटको समन्वयमा केयर नेपाल र मानवीय सहायता साझेदारी मञ्च  एचपीपीको सहयोगमा प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केयर नेपालका प्रतिनिधि कालिदास जोशी, पहाडी क्षेत्र विकास अभियानका अध्यक्ष प्रदीपजंग शाह तथा वडा नं-२ का अध्यक्ष भीमबहादुर कार्कीको उपस्थितिमा ८८ घरधुरीलाई राहत सामग्री वितरण गरिएको थियो ।

प्रभावित प्रत्येक घरधुरीलाई करिब २५ हजार १७४ रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइएको आयोजकले जनाएको छ । कुल २२ लाख १५ हजार ३२० रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो ।

राहतमा स्वच्छता किट, सोलार किट, पानी किट, भान्सा किट र पी–फर्मलगायत ४१ प्रकारका सामग्री समावेश छन् ।

पहिरोबाट विस्थापित तथा जोखिममा रहेका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउँदा केही राहत पुगेको स्थानीयले बताएका छन् । विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग पु¥याउने यस मानवीय कार्यमा सहयोग गर्ने सबै संस्था, व्यक्ति तथा सरोकारवालाप्रति आयोजकले आभार व्यक्त गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>