देश/प्रदेश
चार ट्रक अवैध उत्तिसको गोलिया काठ बरामद

खोटाङ, भदौ १० –
डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा पर्ने साप्सुखोला किनारबाट अवैधानिकरुपमा निकासी गर्न लागिएको काठ वन कार्यालयले तीन दिन लगाएर बरामद गरेको हो ।
स्थानीयले दिएको सूचनाका आधारमा निरीक्षण गर्दा काष्ठ व्यवसायीले अनधिकृत रुपमा बिक्रीका लागि लैजान लागेको अवस्थामा फेला परेको डिभिजन प्रमुख राजन राईले जानकारी दिनुभयो ।
“काठ व्यवसायीले बिना अनुमति रुख कटान गराएर निकासी गर्ने तयारी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि बरामद गरेका छौँ”, उहाँले भन्नुभयो, “घटनाको विषयमा छानबिन गर्न समिति पनि बनाइएको छ । समितिको प्रतिवेदन आएपछि कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।”
साप्सुखोलाको शिरतर्फका सार्वजनिक तथा सामुदायिक वनका रुख कटान गरेर ती काठ बगाउँदै ल्याइएको बताइन्छ । मध्यपहाडी लोकमार्गस्थित साप्सुखोलाको मोटरेबल पुलमा काठका मुडा जम्मा गरिएको पाइएको थियो ।
अवैध रुपमा गोलिया काठ निकासी भइरहेको घटना सार्वजनिक भएपछि डिभिजन वन कार्यालय खोटाङका कर्मचारी पुग्दा कतिपय मुडा खोलाबाट निकालेर हार लगाएर बगरमा राखिएको तथा कतिपय मुडा खोलामै छरपस्ट भेटिएका थिए । वन कार्यालयका कर्मचारीले सबै काठ वन कार्यालयमा ल्याएका छन् ।
बेवारिसे अवस्थामा भेटिएका गोलिया काठ केही निजी र केही सार्वजनिक जग्गाबाट अवैधानिक तरिकाले कटान गरिएको डिभिजन प्रमुख राईले जानकारी दिनुभयो ।
‘वन ऐन २०७६’ अनुसार सार्वजनिक जग्गामा रहेको उत्तिसलगायत निकासीका लागि खुला गरेको विभिन्न २८ प्रजातिका रुख कटान गरेको प्रमाणित भएमा रु दश हजार जरिवाना र छ महिना कैद हुने कानुनी व्यवस्था छ ।
निजी जग्गामा भएका रुख कटानका लागि आदेश लिन नपरे पनि व्यावसायिक रुपमा निकासी गर्न सम्बन्धित क्षेत्रमा रहेको वन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।
दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो केही वर्षदेखि व्यापक रुपमा उत्तिस, मलातो, पात्ले, चिलाउनोलगायत विभिन्न प्रजातिका रुख कटान गरेर गोलिया काठ निकासी गर्ने काम भइरहेको छ ।
सक्रिय काठ व्यवसायीले ग्रामीण भेगका जग्गाधनीबाट सस्तो मूल्यमा सिङ्गो रुख खरिद गरेर कटानगरी तराईका विभिन्न जिल्लामा गोलिया काठ निकासी गरेर राम्रो कमाई गरिरहेका छन् । रासस

























