देश/प्रदेश

अन्नबालीमा वन्यजन्तुको आतङ्क, टिमुरमा किसानको भरोसा

Banner

रामचन्द्र रायमाझी,

पाल्पा, भदौ ९

यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् ।

खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि पाल्पाका किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् । टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको तिनाउ गाउँपालिका, कचलका मीनबहादुर सारुले बताउनुभयो ।

यहाँका धेरैजसो किसानले बारीभरि टिमुर बताउनुभयो । “यहाँ सबैजसो बारी र बाँझो जमिनमा टिमुर छ, वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प टिमुरखेती बनेको छ”, सारुले भन्नुभयो । टिमुरबाट आम्दानीसमेत राम्रो हुँदै आएको उहाँको भनाई छ ।

रिब्दीकोट गाउँपालिका–ढुस्टुङका तारा बगालेले पनि व्यावसायिक रुपमा टिमुरखेती गर्नुभएको छ । टिमुरखेतीमा वन्यजन्तुले खासै क्षति नपुर्‍याउने, धेरै मेहनत नपर्ने र उत्पादनपछि बजार पाउन सहज हुने भएकाले अन्नबालीको विकल्पका टिमुरखेती रोजेको उहाँको भनाइ छ ।

पहिले मकैखेती लगाउँदै आउनुभएका उहाँले अहिले बारीमा ५० बोट टिमुरका बिरुवा लगाउनुभएको छ । दिनहुँजसो वन्यजन्तु आउने ठाउँमा अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही नरहने भएपछि टिमुरखेती गर्न थालेको उहाँ बताउनुहुन्छ ।

बगाले भन्नुहुन्छ, “हरेक वर्ष बारीमा मकै लगायो बाँदर र बदेलले खाएर सखाप पारिदिन्छन् । मेहनत गरेर लगाएको बाली स्याहार्ने बेलामा आएर बन्यजन्तुले खाइदिएपछि विकल्पको रुपमा टिमुर लगाइदिएको हुँ ।” टिमुरबाट राम्रो आम्दानीसमेत हुने उहाँको भनाइ छ ।

निस्दी गाउँपालिका–ज्यामिरेका कर्णबहादुर सोतीले पनि डिभिजन वन कार्यालयबाट गत वर्ष २० वटा बिरुवा लिएर अहिले खेती थाल्नुभएको छ । लगाएको अन्नवाली वन्यजन्तुले खाइदिएर हैरान बनाएपछि अहिले टिमुरखेती गर्न लागेको उहाँ बताउनुहुन्छ ।

रैनादेवी छहराका धु्रवबहादुर रानाले पहिला–पहिला बारीका काल्नामा टिमुर लगाउँदा सबै हाँस्थे । जब टिमुर आम्दानीको बलियो माध्यम बन्यो तब बारी ढाक्ने गरी सबैले टिमुर लगाउन थालेको उहाँ बताउनुहुन्छ ।

राना भन्नुहुन्छ, “वन्यजन्तुको आतङ्कले अन्नबाली लगाउन सकेनौँ, अहिले हामीले टिमुरखेती गरेका छौँ । बारीको छेउ, ढिक, खोरिया तथा वनमा लगाइएको टिमुरखेतीले जिल्लाका दुई हजार बढी किसानलाई फाइदा पुगेको छ । असारको अन्तिम सातादेखि असोज–कात्तिक महिनासम्म टिमुर बिक्री गरेर यहाँका किसानले वार्षिक एक लाखदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङकले पाल्पाका किसान टिमुरखेतीप्रतिको आकर्षित भइरहेको बताउनुभयो । पाल्पाको भौगोलिक बनोट र हावापानी टिमुर खेतीका लागि अत्यन्तै उपयोगी रहेको छ । नेपाल सरकारले टिमुरलाई जडीबुटी प्रजातिमध्ये एक प्रमुख बाली मानेको छ ।

टिमुरसहित १२ जडीबुटी प्रजातिलाई खेती प्रविधि अनुसन्धानका लागि प्राथमिकतामा राखिएपछि किसानको आकर्षण बढेको तामाङ बताउनुहुन्छ । डिभिजन वन कार्यालयले विगत तीन वर्षदेखि टिमुरलाई व्यावसायिक खेतीका रूपमा विकास गर्न पहल गरिरहेको छ ।

वन कार्यालयले टिमुरखेती गर्न चाहने किसानलाई बिरुवा उपलब्ध गराउँदै आएको छ । स्थानीयस्तरमै पर्याप्त बिरुवा उत्पादन गर्न नसकिएपछि पश्चिम नेपालका अन्य जिल्लाबाट बिरुवा ल्याएर किसानलाई वितरण गर्ने गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले पहिलो वर्ष १० हजार बिरुवा वितरण गरेको थियो । त्यसपछिको आर्थिक वर्षमा किसानको मागअनुसार २० हजार बिरुवा वितरण गर्दै आएको छ । पछिल्लो समय किसानको मागअनुसार बिरुवा उपलब्ध गराउनसमेत कठिन हुन थालेको सूचना अधिकारी तामाङ बताउनुहुन्छ ।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठका अनुसार पाल्पाको अधिकांश भू–भागमा टिमुर खेतीको सम्भावना छ । अग्लो तथा ओसिलो स्थानमा समेत खेती गर्न सकिने भएकाले जिल्लाका विभिन्न क्षेत्रमा यसको विस्तार गर्न सकिने उहाँ बताउनुहुन्छ ।

“अन्य खेतीमा बाँदरको आक्रमण हुन्छ तर टिमुरखेतीबाट किसानलाई सुरक्षित र दीर्घकालीन फाइदा हुन्छ,” श्रेष्ठ भन्नुहुन्छ । उहाँका अनुसार एकपटक टिमुरको बोट हुर्काएपछि वर्षौंसम्म त्यसबाट आम्दानी लिन सकिन्छ । यही कारण वन्यजन्तुको समस्या भएका क्षेत्रमा टिमुर किसानका लागि वैकल्पिक खेतीका रूपमा स्थापित हुँदै गएको छ ।

एकातिर बाँदर र बदेलको आतङ्कबाट अन्नबाली जोगाउन किसानलाई चुनौती थपिँदै गएको छ भने अर्कोतिर टिमुरले त्यही चुनौतीलाई अवसरमा बदल्ने बाटो देखाएको छ । वन्यजन्तुले अन्नबाली खोस्दै गर्दा किसानले भने टिमुरमार्फत सुरक्षित खेती र आम्दानीको नयाँ बाटो रोजेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>