देश/प्रदेश

गृहिणीदेखि उद्यमीसम्मः मधेसमा बढ्दै महिला सहभागिता

Banner

जनकपुरधाम, भदौ ८-

धनुषाधाम नगरपालिका–४ अम्बिका श्रेष्ठ यतिबेला गाउँ नजिकैको चौकमा जेनरल स्टोर्स सञ्चालन गरिहरनुभएको छ ।

गत वर्षको असोजमा घरेलु तथा साना उद्योग कार्यालय धनुषामा जेनरल स्टोर्स दर्ता गराउनुभएकी उहाँ यतिबेला असल गृहिणीसँगै सफल व्यापारी बन्ने अभियानमा हुनुहुन्छ । प्रारम्भमा श्रीमान्लाई सञ्चालक बनाएर जेनरल स्टोर्स दर्ता गराउने सोच बनाउनुभएकी श्रेष्ठले सरकारले दिएको छुट सुविधाका कारण आफ्नै नाममा जेनरल स्टोर्स दर्ता गराउनुभयो ।

विगत घरकै काममा मात्र सीमित धनुषाकै सहिद नगरपालिका–५ की सुनिता साह यतिबेला आफ्नै नाममा फेन्सी स्टोर्स दर्ता गराएर यदुकाहा बजारमा व्यवसायी गर्दै आउनुभएको छ । सुनिता र अम्बिका मात्रै होइनन्, सरकारले उद्योग र व्यवसायी दर्ता दस्तुरमा महिलालाई सहुलियत दिएपछि मधेस प्रदेशका जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढ्दै गएको छ ।

कुनै बेला महिलालाई सञ्चालक बनाएर उद्योग दर्ता गराउने सङ्ख्या न्यून रहेको मधेस प्रदेशमा केही समय यता महिलालाई नै मुख्य सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढेको हो । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसायीको दर्तामा ३५ प्रतिशत मात्र दस्तुत लाग्ने व्यवस्था गरेपछि महिलालाई सञ्चालक बनाएर उद्योग व्यापार दत्र्ता गराउने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख सन्तोषकुमार साहले बताउनुभयो ।

हाल दैनिक १० देखि १२ वटासम्म नयाँ उद्योग व्यापार दर्ता हुने गरेकोमा करिब ७० प्रतिशत उद्योग व्यापार व्यवसाय महिलाकै नाममा दर्ता हुने गरेको प्रमुख साहको भनाइ छ । महिलाको नाममा दर्ता भएका व्यवसायतर्फ अधिकांश जेनरल स्टोर्स, सिलाइकटाइ टेलरिङ, ब्यूटी पार्लर रहेका छन् भने उद्योगतर्फ अधिकांश कृषि र माछा तथा पशुपालन बढी रहेको छ ।

मधेस प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशका आठवटै जिल्लाका चार हजार ८७८ महिलाले रोजगारी पाएका छन् । त्यसमध्ये सबैभन्दा बढी बारामा एक हजार ४७३, पर्सामा एक हजार २२७, रौतहटमा ३८५, सर्लाहीमा ५७५, महोत्तरीमा ३७५, सप्तरीमा ३६३, धनुषामा ३४४ र सिरहामा १३६ जना महिलाले रोजगारी पाएको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशमा पाँच हजार ६८ वटा नयाँ उद्योग दर्ता भएको छ । सो अवधिमा पर्सामा एक हजार १०१, धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दर्ता भएकोछ । गत आव २०८२/८३ मा यस प्रदेशमा सात हजार ५४० वटा उद्योगको नवीकरण भएको छ ।

गत आव २०८२/८३ मा वाणिज्यतर्फ प्राइभेट फर्म छ हजार १२२ र साझेदारी फर्म १८ वटा नयाँ दर्ता हुँदा ११ हजार १४४ वटा नवीकरण भएको छ ।

नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायत शीर्षकबाट रु पाँच करोड २६ लाख ४९ हजार ५६२ राजस्व सङ्कलन भएको छ । सरकारले महिलाको नाममा दर्ता हुने उद्योग व्यवसायलाई दस्तुतमा छुट दिनु, स्थानीय प्रशासनले उद्योग व्यवसायी दर्ताका लागि कडाई गर्नु र बैंक तथा बित्तिय संस्थाहरुबाट उद्योग व्यवसायमा ऋण लगानी सहज हुन सक्नेलगायत कारण घरेलु तथा साना उद्योग व्यवसाय दर्ता गराउने क्रम बढ्ेको घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका प्रमुख पवन पजियारको भनाइ छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बू साहले भन्नुभयो, ‘‘पछिल्लो समय महिलालाई उद्योग व्यापारको मालिका बनाउन थालिएको छ, यो सकारात्मक कुरा हो ।” उद्योग व्यवसाय सञ्चालनमा महिलाको सहभागिता बढ्दै जाँदा महिलालाई सशक्तीकरणका माध्यमबाट समाज रुपान्तरणमा योगदान पुगेको उहाँको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>