अन्तर्राष्ट्रिय
न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

न्युजिल्यान्ड, भदौ ८-
न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र स्न्यापच्याटजस्ता सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानून अघि बढाएको छ । सरकारले सामाजिक सञ्जालका कारण बालबालिकाको मानसिक स्वास्थ्य, निद्रा, पारिवारिक जीवन र शिक्षामा असर परेको भन्दै कडा उमेर सीमा प्रस्ताव गरेको हो ।
प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बालबालिकामाथि सामाजिक सञ्जालको बढ्दो प्रभाव स्वीकार गर्न नसकिने बताउनुभयो । उहाँका अनुसार १३ देखि १७ वर्ष उमेर समूहका तीनमध्ये एक बालबालिकाले दैनिक कम्तीमा पाँच घण्टा सामाजिक सञ्जालमा बिताउने गरेका छन् । सामाजिक सञ्जालले उनीहरूलाई हानिकारक सामग्री, लत लगाउने प्रविधि र मानसिक दबाबको जोखिममा पारिरहेको उहाँको भनाइ छ ।
प्रस्तावित व्यवस्थाअनुसार सामाजिक सञ्जाल कम्पनीले प्रयोगकर्ताको उमेर १६ वर्षभन्दा बढी भए–नभएको सुनिश्चित गर्नुपर्नेछ । त्यसका लागि खाता विवरण, अनुहारबाट उमेर अनुमान गर्ने प्रविधि, डिजिटल परिचयपत्र वा औपचारिक परिचयपत्र प्रयोग गर्न सकिनेछ । नियम उल्लङ्घन गर्ने मेटालगायत कम्पनीलाई विश्वव्यापी राजस्वको १० प्रतिशतसम्म जरिवाना हुन सक्नेछ । बालबालिका वा उनीहरूका अभिभावकलाई भने दण्ड नहुने शिक्षामन्त्री एरिका स्ट्यानफोर्डले बताउनुभयो ।
तर प्रस्तावित कानूनलाई राजनीतिक चुनौतीसमेत देखिएको छ । सरकारमा सहभागी एक्ट पार्टी र एनजेड फर्स्टले यसको विरोध गरेका छन् । अस्ट्रेलियामा यस्तै व्यवस्था प्रभावकारी नभएको र किशोरकिशोरीले प्रतिबन्ध छल्न सक्ने उनीहरूको तर्क छ । मुख्य विपक्षी लेबर पार्टीले पनि उमेर प्रमाणीकरण कसरी गरिने र कुन प्लेटफर्मलाई प्रतिबन्धमा समेटिने भन्ने विषयमा थप स्पष्टता मागेको छ ।
लेबरका प्रवक्ता रुबेन डेभिडसनले अनलाइन वातावरण जटिल बन्दै गएकाले युवाको सुरक्षासम्बन्धी जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो ।
अस्ट्रेलियाले गत डिसेम्बरमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो कानून लागू गरेको थियो । बेलायत, फ्रान्सलगायतका देशले पनि यस्तै उपाय अघि बढाएका छन् । यद्यपि, गत जुनमा प्रकाशित एक अध्ययनले अस्ट्रेलियाको प्रतिबन्धपछि किशोरकिशोरी सामाजिक सञ्जालबाट उल्लेख्य रूपमा टाढिएको प्रमाण निकै कम रहेको देखाएको थियो । रासस

























