अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा हजारौं ‘लिटिल पेन्गुइन’लाई एच–५ एन–१ विरुद्धको खोप लगाइँदै

Banner
अष्ट्रेलिया, भदौ ८-
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अधिकारीहरूले लोकप्रिय पर्यटकीय स्थलका पाँच हजार ‘लिटिल पेन्गुइन’लाई एच–५ एन–१ बर्ड फ्लुविरुद्ध खोप लगाउन थालेका छन् ।
राज्य सरकारले सुरु गरेको संरक्षण कार्यक्रमअन्तर्गत मेलबर्नको दक्षिणमा रहेको फिलिप आइल्याण्ड नेचर पार्कका कर्मचारीले आइतबार राति एक हजार लिटिल पेन्गुइनलाई एच–५ एन–१ खोपको पहिलो मात्रा दिएका छन् ।
अत्यधिक सङ्क्रामक एच–५ एन–१ भाइरसको सङ्क्रमण देशभर फैलिरहेका बेला फिलिप आइल्याण्ड र मेलबर्नको सेन्ट किल्डामा रहेका पाँच हजार लिटिल पेन्गुइनलाई खोप लगाउने योजना बनाइएको हो ।
फिलिप आइल्याण्डमा विश्वकै सबैभन्दा ठूलो लिटिल पेन्गुइन समूह रहेको छ । अष्ट्रेलिया र न्युजिल्यान्डका रैथाने मानिने यी पेन्गुइनको सङ्ख्या यहाँ करिब ४० हजार रहेको अनुमान छ ।
फिलिप आइल्याण्डको ‘पेन्गुइन परेड’ भिक्टोरियाको लोकप्रिय पर्यटकीय आकर्षणमध्ये एक हो । यहाँ साँझपख समुद्रबाट बासस्थानतर्फ फर्किरहेका पेन्गुइन हेर्न पर्यटकहरू पुग्ने गर्छन् । सन् २०२५ मा सात लाखभन्दा बढी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए ।
भिक्टोरियाकी वातावरणमन्त्री ज्याक्लिन साइम्सले खोपको पहिलो मात्रा लगाइएका पेन्गुइनलाई तीनदेखि चार सातापछि पुनः समातेर दोस्रो मात्रा दिइने बताउनुभयो ।
“बर्ड फ्लु यहाँ आइसकेको छ र यसलाई रोक्न सकिँदैन, तर पेन्गुइनको समूहलाई सकेसम्म सुरक्षित राख्न हामीले सक्दो प्रयास गर्न चाहन्छौँ” उहाँले अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनलाई बताउनुभयो ।
राज्यको वातावरण विभागको सन् २०२५ को प्रतिवेदनअनुसार फिलिप आइल्याण्डका लिटिल पेन्गुइनमा एच–५ एन–१ को प्रकोप फैलिएमा मृत्युदर ४० प्रतिशतसम्म पुग्न सक्छ ।
फिलिप आइल्याण्डमा अगस्ट १५ मा लिटिल पेन्गुइनमा अष्ट्रेलियाकै पहिलो एच–५ एन–१ सङ्क्रमण पुष्टि भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>