देश/प्रदेश

दुखुखोला सडक पुल जोखिममा

Banner

म्याग्दी, भदौ ८ –

जिल्लाको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको कटानका कारण मोटरेबल पुल जोखिममा परेको छ ।

दुखुखोलामा आएको बाढी पुलको संरचनाभन्दा मुनिबाट बग्न थालेपछि भासिने जोखिम बढेको हो । दुखुबेँसीका बासिन्दासमेत रहेका मालिका गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद रोकाले पुलको मङ्गला गाउँपालिकातर्फको जग मुनिबाट खोला बग्न थालेको र पहुँचमार्ग कटान गरेर साँघुरिएको जानकारी दिनुभयो ।

“यात्रुवाहक सवारीसाधन र जलविद्युत् आयोजनाका सामग्री बोकेका ठूला ट्रक गुड्ने पुल जुनसुकै बेला भासिएर दुर्घटना हुने जोखिम छ”, उहाँले भन्नुभयो, “यो पुल भत्किने हो भने मालिका, धवलागिरि र तमानखोला गाउँपालिकाको बेनीसँग सिधा यातायात सम्पर्क टुट्छ ।” पुलको एकातर्फको पिलरको जगमुनिबाट खोलाले कटान गरेर बाढी बग्न थालेको छ ।

सङ्घीयता लागू हुनुअघि तत्कालीन जिल्ला पूर्वाधार कार्यालयले ठेक्का लगाएको २० मिटर लामो र छ मिटर फराकिलो यो पुल रु दुई करोड छ लाखमा २०७६ सालमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको थियो । मालिकाधुरीको फेदीमा मुहान रहेको दुखु ठाडोखोला हो ।

पूर्वाधार विकास कार्यालयले दुखुखोला सडक पुल संरक्षणका लागि शनिबारदेखि नै काम सुरु भएको जनाएको छ । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले डोजर परिचालन गरेर खोला डाइभर्सन गर्ने र पर्खाल बनाएर पुलको पिलर तथा पहुँचमार्ग संरक्षणको काम थालिएको बताउनुभयो । जोखिमयुक्त भएकाले पुलमा यात्रा गर्ने क्रममा सावधानी अपनाउन कार्यालयले आग्रह गरेको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>