कृषि

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ

Banner

काठमाडौँ, भदौ ७-

यस वर्ष हालसम्म देशभर धान रोपाइँको अवस्था निकै उत्साहजनक देखिएको छ । कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रोपाइँको दरमा झण्डै २ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यसै समयसम्म ९६.०८ प्रतिशत मात्र रोपाइँ भएको थियो । विभागको तथ्याङ्क अनुसार देशभर हालसम्म १३ लाख ४१ हजार ७ सय ६४ हेक्टरमा धान रोपाइँ सकिएको छ ।

प्रदेशगत विवरण हेर्दा सुदूरपश्चिम प्रदेशले रोपाइँमा सबैभन्दा अग्रस्थान हासिल गरेको छ । सुदूरपश्चिममा १ लाख ५४ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमै रोपाइँ सम्पन्न भई शतप्रतिशत रोपाइँ सकिएको हो ।

त्यसैगरी, कर्णाली प्रदेशमा ९८.५० प्रतिशत, मधेश प्रदेशमा ९८.१० प्रतिशत र लुम्बिनी प्रदेशमा ९७.८७ प्रतिशत रोपाइँ सकिएको छ । मधेश प्रदेशमा गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छः गत वर्ष यसै अवधिमा त्यहाँ ८६.३५ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

अन्य प्रदेशहरूको अवस्था हेर्दा बागमती प्रदेशमा ९७.८२ प्रतिशत, कोशी प्रदेशमा ९७.०० प्रतिशत र गण्डकी प्रदेशमा ९६.६८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । समग्रमा, समयमै मनसुन सक्रिय हुनु र कृषि प्रसारमा देखिएको सक्रियताका कारण यस वर्ष रोपाइँको क्षेत्रफल र प्रतिशत दुवैमा वृद्धि भएको विभागले जवनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>