देश/प्रदेश

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

Banner

गुल्मी, भदौ ६-

गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी ढुङ्गाबाट निर्माण गरेको एक किलोमिटर लामो ‘धुर्कोट ग्रेटवाल’ पछिल्लो समय जिल्लाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । टाढाबाट हेर्दा विश्वप्रसिद्ध ग्रेटवालको झल्को दिने उक्त संरचना हेर्न तथा हिमशृङ्खलाको दृश्यावलोकन गर्न आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्दै गएको हो ।

धुर्कोट गाउँपालिका-६ स्थित ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी ढुङ्गाको पर्खाल चिरेर निर्माण गरिएको पैदल मार्गलाई गाउँपालिकाले ‘धुर्कोट ग्रेटवाल’ नामकरण गरेको हो । उक्त संरचनाबाट चारैतिरका रमणीय दृश्यसँगै माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायत हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ ।

विशेषगरी सार्वजनिक बिदाका दिन घुम्न, श्रव्यदृश्य सामग्री बनाउन, तस्बिर लिन, सामाजिक सञ्जालका लागि सामग्री बनाउन र प्राकृतिक दृश्यको आनन्द लिन जिल्लाभित्र तथा बाहिरबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बताउनुभयो । उहाँका अनुसार ग्रेटवाल निर्माण भएपछि यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ ।

अध्यक्ष पोखरेलले पर्यटकलाई कम्तीमा दुई दिनसम्म धुर्कोटमा बस्ने वातावरण बनाउने उद्देश्यले विभिन्न पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो । पैदलमार्ग निर्माण गर्दै जाने क्रममा संरचना ग्रेटवाल जस्तो देखिएपछि यसको नाम ‘धुर्कोट ग्रेटवाल’ राखिएको उहाँको भनाइ छ ।

“धुर्कोटको पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक धुर्कोटकोट तथा सङ्ग्रहालय, विचित्र गुफा, बुढीकोट ग्रेटवाल, सहिद पार्क निर्माण गरी पर्यटकीय क्षेत्रलाई एकीकृत रूपमा विकास गर्ने पालिकको योजना छ । यसले आर्थिक गतिविधि चलायमान बन्नुका साथै रोजगारीका अवसर सिर्जना भई स्थानीयको आयआर्जन बढ्ने अपेक्षा छ”, अध्यक्ष पोखरेलले भन्नुभयो ।

पालिकाका अनुसार धुर्कोट ग्रेटवाल निर्माणमा गाउँपालिकाको ७० प्रतिशत र सङ्घीय सरकारको ३० प्रतिशत लगानी रहेको छ । कुल रु तीन करोड २३ लाखको लागतमा निर्माण गरिएको उक्त संरचनाबाट पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा व्यापारव्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यस क्षेत्रमा ऐतिहासिक धुर्कोटकोटमा विभिन्न पूर्वाधार निर्माण गरिएको छ भने बुढीकोट क्षेत्रमा आकर्षक ग्रेटवालसँगै विशाल शिवको मूर्ति, मन्दिर तथा अन्य मनोरञ्जनात्मक संरचनासमेत निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद पन्थीले बताउनुभयो ।

पर्यटकीय क्षेत्रलाई थप हराभरा र आकर्षक बनाउन गाउँपालिकाले ग्रेटवालको दायाँबायाँ तथा बुढीकोट क्षेत्रमा विभिन्न प्रजातिका दुई हजारभन्दा बढी बिरुवा रोपेको गाउँपालिका उपाध्यक्ष सीता गिरीले जानकारी दिनुभयो । पर्यटकीय पूर्वाधार र रोपिएका बिरुवाको संरक्षण तथा हेरचाहका लागि गाउँपालिकाले हेरालुको समेत व्यवस्था गरेको उहाँले बताउनुभयो ।

ग्रेटवाल हुँदै पैदलयात्रा गर्ने क्रममा नजिकै विशाल शिवको मूर्ति भएको स्थानमा पुग्न सकिन्छ । त्यहाँबाट गुल्मी जिल्लाको करिब ८० प्रतिशत भूभाग देख्न सकिने अध्यक्ष पोखरेलले बताउनुभयो । अग्लो डाँडाबाट देखिने प्राकृतिक दृश्य, हरियाली वनजङ्गल र टाढासम्म फैलिएका हिमशृङ्खलाले पर्यटकलाई थप आकर्षित गर्ने स्थानीय चुरा भण्डारीले बताउनुभयो । सामाजिक सञ्जालमा तस्विर, भिडियो र टिकटक सार्वजनिक हुन थालेसँगै धुर्कोट ग्रेटवाल यतिबेला नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>