देश/प्रदेश
कञ्चनपुर जिल्ला धान र गहुँमा आत्मनिर्भर

कञ्चनपुर, भदौ ५-
कञ्चनपुर जिल्ला धान र गहुँमा आत्मनिर्भर भएको छ ।
यहाँको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध हुनु, उन्नत बीउको प्रयोग तथा कृषि यान्त्रिकीकरणको प्रयोग बढेकाले खाद्यान्न उत्पादनमा वृद्धि हुँदा आत्मानिर्भर बनेको हो ।
कञ्चनपुरमा गत आव २०८२/०८३ मा ९१ हजार मेट्रिक टन धान र तीन हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।
जिल्लाको कूल भू–भागमध्ये ५६ हजार ३६३ हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । कूल खेतीयोग्य जमिन ६१ हजार ६२४ हेक्टर क्षेत्रफल छ । ४८ हजार ४९६ हेक्टरमा धान र ३१ हजार २१० हेक्टर क्षेत्रफलमा गहुँ उत्पादन हुन्छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरले कूल क्षेत्रफलको ३५ प्रतिशत क्षेत्रफलमा मात्रै खेती हुने गरेको जनाएको छ । पछिल्ला वर्षमा धान र गहुँको उत्पादकत्व समेत वृद्धि हँुदै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । “कूल खेतीयोग्य जमिनको ६५ प्रतिशत क्षेत्रफलमा मात्रै सिचाइ सुविधा उपलब्ध छ ।” कञ्चनपुर, कृषि ज्ञान केन्द्रका प्रमुख हरिप्रसाद पनेरुले जानकारी दिनुभयो ।
यहाँबाट धान गहुँ, तोरी, मकै र मसुरो निर्यात हुने गरेको भए पनि जिल्लामा सबैभन्दा बढी आलु र प्याज आयात हुने गरेको पनेरुले बताउनुभयो । “पछिल्लो समय खेतीयोग्य जग्गा प्लटिङ भइरहेको छ । पहाडबाट तराईमा बसाइसराइ तीव्र छ”, उहाँले भन्नुभयो, “बसाइसराइको चापका कारण खेतीयोग्य जग्गा खण्डीकरण हँुदै गएको छ ।” बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ ।
सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन खण्डीकरण भइरहेको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ ।
कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको जम्मा खेतीयोग्य जमिनको ५१ हजार दुई सय ५० हेक्टर जग्गा बाँझो छ । सुदूरका पहाडी जिल्लाको कूल खेतीयोग्य जमिन ५६ हजार तीन सय ४७ हेक्टर छ मध्ये ४२ हजार चार सय १३ हेक्टरमा खेती हुने गरेको छ ।
निर्देशनालयका अनुसार डोटीमा ३२ हजार दुई सय ७६ हेक्टर खेतीयोग्य जमिनमध्ये २५ हजार पाँच सय हेक्टरमा खेती हुने गरेकोछ । डडेल्धुरामा ११ हजार छ सय १६ हेक्टर खेतीयोग्य रहेकामा १० हजार छ सय ६७ हेक्टरमा खेती हँुदै आएको छ ।
बैतडीमा ३१ हजार चार सय ८५ हेक्टर खेतीयोग्य जमिन रहेकामा २५ हजार सात सय हेक्टरमा खेती भइरहेको छ । बाजुरामा २४ हजार तीन सय हेक्टर खेतीयोग्य जमिनमध्ये २० हजार एक सय ५५ हेक्टरमा खेती भइरहेको छ ।
चैतीस हजार छ सय सात हेक्टर जमिन खेतीयोग्य रहेको बझाङमा २८ हजार दुई सय १४ हेक्टरमा खेती हुँदै आएको छ । उनान्तीस हजार पाँच सय ४४ हेक्टर जमिन खेतीयोग्य रहेको दार्चुलामा २२ हजार आठ सय २५ हेक्टरमा खेती हुँदै आएको कृषि विकास निर्देशनालय डोटीका कृषि अर्थ निर्देशक ज्ञानराज कँडेलले जानकारी दिनुभयो । रासस

























