चितवन विशेष
अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसंग जोडियो चितवनको होटल सिराइचुली, ‘बेस्ट वेस्र्टन सिराइचुली होटल’ नामबाट सेवा सुरु

चितवन, भदौ ४–
चितवनको भरतपुर–१०, स्थित अग्रणी होटलका रूपमा स्थापित होटल सिराइचुली विश्वकै प्रमुख होटल ब्रान्डमध्ये एक ‘बेस्ट वेस्टर्न होटेल्स एण्ड रिसोर्ट’संग आबद्ध भएको छ।
यससँगै होटल अब ‘बेस्ट वेस्र्टन सिराईचुली होटल’ नामबाट आज (बिहीबार)देखी औपचारिक रुपमा सेवा सञ्चालन सुरु गरेको छ । होटलमा आयोजित औपचारिक समारोहमा सिराइचुली होटलका अध्यक्ष चुडामणि खनाल र बेस्ट वेस्र्टन इन्टरनेशनलका सिइओ तथा अध्यक्ष ह्यारी डोङले सम्झौता पत्रमा हस्तान्तरण गर्दै औपचारिक रुपमा ‘बेस्ट वेस्र्टन सिराईचुली होटल’ शुभारम्भ भएको घोषणा गरेका थिए ।
सो क्रममा बोल्दै अध्यक्ष खनालले होटल सिराइचुली स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो । होटल सिराइचुलीलाई ‘बेस्ट वेस्र्टन’लाई हस्तान्तरण गर्नुको मुख्य उद्देश्य नै होटलको सेवा र गुणस्तरलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउनु रहेको बताउनुभयो । ‘बेस्ट वेस्र्टनको अन्तर्राष्ट्रिय अनुभव, ब्राण्ड, पहिचान, व्यवस्थापन, क्षमता र विश्वव्यापी नेटवर्कले होटल सिराइचुलीलाई आगामि दिनमा अझ सफल बनाउन महत्वपूर्ण योगदान दिने छ । साथै यस कार्यबाट पर्यटनमा वृद्धि हुने विश्वास लिएका छौं ।’–अध्यक्ष खनालले भन्नुभयो । उहाँले पर्यटन नै नेपालको महत्वपूर्ण व्यवसाय रहेको भन्दै यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अहिलेसम्म साथ दिने सबै सेवाग्राही, शुभेच्छुकहरुमा अध्यक्ष खनालले धन्यवाद ज्ञापन गर्नुभयो ।
यस्तै होटल सिराइचुलीका प्रवन्ध निर्देशक विष्णु कुवँरले बेस्ट वेस्र्टनको नयाँ व्यवस्थापनसंगै पाहुनाहरुलाई नयाँ अनुभव प्रदान गरिने बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीले अन्तर्राष्ट्रिय स्तरको आतिथ्यता मार्फत हाम्रा पाहुनाहलाई नयाँ अनुभव प्रदान गर्ने लक्ष्य लिएका छौं । आगामि दिनमा अतिथिहरुको सन्तुष्टी र विश्वासलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।’
कार्यक्रमका प्रमुख आतिथि नेपालका लागि अमेरिकी दूतावासका कार्यवाहक उपनियोग प्रमुख विल्बर्ट वघुनले अन्तर्राष्ट्रिय होटल ब्रान्ड बेस्ट वेस्टर्नको चितवनमा आगमनले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रका लागि नयाँ अवसर सिर्जना गर्ने बताउनुभयो । वघुनले अमेरिकी ब्रान्डको नेपालमा विस्तार हुनु दुई देशबीचको आर्थिक सहकार्य र निजी क्षेत्रको साझेदारीको सकारात्मक उदाहरण भएको बताउनुभयो ।
उहाँले चितवन नेपालकै प्रमुख पर्यटन गन्तव्यमध्ये एक भएकाले विश्वस्तरीय होटल ब्रान्डको उपस्थितिले अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न, सेवा–स्तर उकास्न तथा स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
वघुनले अमेरिकी कम्पनीहरूको नेपालप्रतिको विश्वास बढ्दै गएको भन्दै पर्यटन, आतिथ्य, लगानी र व्यापारका क्षेत्रमा दुवै देशबीच सहकार्यका सम्भावना अझ विस्तार हुँदै गएको धारणा राख्नुभयो ।

कार्यक्रममा बेस्ट वेस्र्टन इन्टरनेशनलका सिइओ तथा अध्यक्ष ह्यारी डोङ, बेस्ट वेस्र्टन इन्टरनेशनलकी प्रवन्ध निर्देशक टिना, नेपाल प्रतिनिधि आर्यन बास्तोलालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सिराइचुलीको यो आबद्धता चितवनको आतिथ्य तथा पर्यटन क्षेत्रमा पछिल्ला वर्षमा भएको महत्वपूर्ण विकासमध्ये एक हो। यसले व्यवसाय तथा पर्यटन गन्तव्यका रूपमा भरतपुरको अन्तर्राष्ट्रिय पहिचान थप बलियो बनाउने अपेक्षा गरिएको छ।
नयाँ ब्रान्ड पहिचानसँगै होटलका पाहुनाले बेस्ट वेस्र्टनको विश्वव्यापी बुकिङ प्रणाली, अन्तर्राष्ट्रिय लोयल्टी कार्यक्रम तथा १०० भन्दा बढी देश तथा क्षेत्रमा मान्यता प्राप्त सेवा र गुणस्तरको मापदण्डको लाभ लिन सक्नेछन्। यद्यपि, होटलले यसअघि स्थापित गरेको स्थानीय पहिचान तथा मौलिक नेपाली आतिथ्यतालाई भने निरन्तरता दिने जनाएको छ ।
यस होटलले स्वदेशी तथा विदेशी पर्यटक, व्यवसायी, सम्मेलन, विवाह तथा विभिन्न कार्यक्रमका समूहलाई सेवा प्रदान गर्दै आएको छ। होटलमा चार श्रेणीका ७१ वटा कोठा तथा सुइट रहेका छन्। कोठाबाट शहर वा हिमाली दृश्य अवलोकन गर्न सकिने व्यवस्था रहेको छ। होटल परिसरमा तीनवटा भोजन तथा बार सेवा सञ्चालनमा छन्। बैठक तथा कार्यक्रमका लागि होटलमा ४०० जनासम्म अट्ने बैंक्वेट हल, बोर्डरुम तथा पीडीआरको व्यवस्था छ। मनोरञ्जन तथा स्वास्थ्यसम्बन्धी सुविधाअन्तर्गत रूफटप स्विमिङ पुल, जिम र स्पा सेवा उपलब्ध छन्।
यसका अतिरिक्त उच्च गतिको इन्टरनेट, बिजनेस सेन्टर, २४ घण्टा फ्रन्ट डेस्क, विमानस्थल तथा स्थानीय ट्रान्सफर, पार्किङ, विद्युतीय सवारी चार्जिङ स्टेसन र दैनिक बुफे ब्रेकफास्टलगायत सुविधा उपलब्ध छन्। यो होटलमा करिव एक अर्ब लगानी रहेको छ ।
बेस्ट वेस्र्टन होटल एण्ड रिसोर्ट विश्वका ठूला होटल ब्रान्डमध्ये एक हो। यसको नेटवर्क १०० भन्दा बढी देश तथा क्षेत्रमा फैलिएको छ। दशकौँको आतिथ्य अनुभवमा आधारित ब्रान्डले गुणस्तर, आराम तथा सेवाको निरन्तर मापदण्डका लागि अन्तर्राष्ट्रिय यात्रुमाझ पहिचान बनाएको छ। विश्वव्यापी बुकिङ प्रणाली तथा लोयल्टी कार्यक्रममार्फत बेस्ट वेस्र्टनले स्वतन्त्र होटल सञ्चालक र पाहुनालाई अन्तर्राष्ट्रिय नेटवर्कसँग जोड्दै आएको छ।
नेपालमा हाल बेस्ट वेस्र्टनका दुईवटा होटल सञ्चालनमा रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच मिनेटको दूरीमा तथा पशुपतिनाथ मन्दिर नजिक एउटा रहेको छ भने अर्को गोदावरीमा रहेको छ। भरतपुरको बेस्ट वेस्र्टन सिराइचुली होटल थपिएसँगै बेस्ट वेस्र्टनको उपस्थिति चितवनसम्म विस्तार भएको छ।

























