अन्तर्राष्ट्रिय

सुनखानीमा पुरिएर मर्नेको सङ्ख्या १०० पुग्यो

Banner

बाङ्गुई, भदौ ४-

मध्य अफ्रिकी गणतन्त्रको पश्चिमी क्षेत्रमा सुनखानी भत्किँदा सय भन्दा बढी मानिसको मृत्यु भएको छ । मंगलबार क्यामरुनको सीमाना नजिकै रहेको जाम्बोये गाउँमा रहेको सो सुनखानीमा दूघर्टना भएको स्थानीय अधिकारी तथा रेडक्रसका स्वयंसेवकले बताएका छन् ।

उक्त स्थान मध्य अफ्रिकी गणतन्त्रको बाबुआ सहरबाट करिब ५० किलोमिटर टाढा र क्यामरुनको पूर्वी क्षेत्रमा पर्ने गारुवा–बुलाइबाट केही किलोमिटर मात्रै टाढा रहेको बताइएको छ । उद्धार कार्यमा संलग्न रेडक्रस स्वयंसेवक गेर्भे गानागोरोहले बुधबार १०० भन्दा बढी शव निकालिएको बताएका छन् ।

स्थानीय खानी सङ्घका एक वरिष्ठ अधिकारीले पनि दुर्घटनामा १०० भन्दा बढी मानिसको मृत्यु भएको पुष्टि गरेका छन् । यद्यपि मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । केही मानिस अझै बेपत्ता छन् भने केही भग्नावशेषमुनि पुरिएको आशङ्का गरिएको छ ।

स्थानीय अधिकारी बट्र्रान्ड बे याङ्गेले भग्नावशेषमुनि पुरिएका मानिसलाई जीवितै उद्धार गर्नु चमत्कारजस्तै हुने बताए । उनले परिवारको आर्थिक अवस्था सुधार्ने आशामा खानीमा काम गर्न पुगेका युवा पुरुष तथा महिलाको मृत्युले आफूहरू अत्यन्त दुःखी भएको बताए । घटनालाई ‘भयानक’ भन्दै नाना–माम्बेरे प्रिफेक्चरका उपमेयर सुलेमान बिले उद्धार तथा राहतका लागि विभिन्न संघसंस्था र सहयोगीहरूलाई अपिल गरेका छन् ।

खानीमा काम भइरहेका भूमिगत सुरुङहरू एकै पटक भत्किएपछि दुर्घटना भएको प्रारम्भिक अनुमान छ । घटनाबारे न्यायिक अनुसन्धानसमेत सुरु गरिएको छ । घटनास्थलमा काम गर्ने एक खानी मजदुर सेड्रिक म्बाङ्गोले दुर्घटनालाई ‘विनाशकारी’ भनेका छन् । उनका अनुसार जमिन पूर्ण रूपमा भत्किएर मानिसहरू पुरिएका र उद्धार प्रयास जारी रहे पनि केही मानिस अझै भग्नावशेषमुनि रहेको अनुमान छ ।

मध्य अफ्रिकी गणतन्त्रमा साना तथा अनौपचारिक खानीहरूमा यस्ता दुर्घटना बारम्बार हुने गरेका छन् । सरकारी नियन्त्रणबाहिर हजारौँ मानिस साना स्तरको खानी उत्खननमा संलग्न छन् । खानी मजदुरहरूसँग पर्याप्त सुरक्षा उपकरण नहुने र कमजोर संरचनामा काम गर्नुपर्ने भएकाले सुरुङ भत्किने तथा अन्य दुर्घटनामा ठुलो मानवीय क्षति हुने गरेको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>