समाचार

ललितपुर महानगरको कामबाट प्रभावित छु ; गृहमन्त्री गुरुङ

Banner

काठमाडौं,भदौ ४-

गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय रहेको बताएका छन् ।

बुधबार ललितपुर महानगरले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरले नयाँ सोचका साथ सञ्चालन गरेका कामबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने बताउँदै यस्ता नवप्रवर्तनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

उनले देशमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आफू राजनीतिमा प्रवेश गरेको बताए । उनले नागरिकलाई राजनीतिक दल वा आस्थाका आधारमा विभेद नगरी समान व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले ललितपुर र भक्तपुरले नेपालको कला, संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण योगदान गरेको बताए ।

गृह मन्त्रालयले अहिले लागू गरिरहेका कतिपय प्रणाली ललितपुर महानगरपालिकाले तीन वर्षअघि नै कार्यान्वयन गरिसकेको उनले उल्लेख गरे ।

‘ललितपुर महानगरले जति पनि काम गर्नुहुन्छ, उहाँहरूको काम नयाँ–नयाँ हुन्छ । गृह मन्त्रालयले अहिले लागू गरिरहेको सिस्टम महानगरले तीन वर्ष अगाडि नै गरिसकेको रहेछ । हामी पुरानो भइसकेछौँ,’ उनले भने ।

सबै निकायले ललितपुर महानगरको जस्तै प्रभावकारी ढंगले काम गर्ने हो भने देशलाई थप समृद्ध र व्यवस्थित बनाउन सकिने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>