स्वास्थ्य

गंगालाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रख्यात केन्द्र बनाउने निर्देशक अमात्यको प्रतिबद्धता

Banner

काठमाडौं, भदौ ३ –

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक प्रा।डा। आशिष गोविन्द अमात्यले केन्द्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रख्यात मुटुरोग उपचार केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार केन्द्रमा आयोजित स्वागत, बधाई, सम्मान तथा विदाइ कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अमात्यले विगतदेखि केन्द्रले गर्दै आएको कामलाई निरन्तरता दिँदै नयाँ विचार र योजनासहित अघि बढ्ने बताए ।

उनले मुटुरोगका बिरामीलाई अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य रहेको बताए ।

उनले भने, ‘विगत ३० वर्षदेखि चल्दै आएको यो संस्थामा उहाँहरूले राख्नुभएका विचारमा अझै पनि हामी अरू विचारहरू थप्नेवाला छौं। यी विचारहरूले नै एउटा विश्वास जगाउनेछ र हाम्रा मुटुरोगका बिरामीलाई हामी अझ राम्रो सेवा दिने विचार गरेका छौं ।’

गंगालाल आजको अवस्थामा पुग्नुमा कर्मचारी तथा चिकित्सकहरूको मेहनत र योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै अमात्यले सबैको सहकार्यबाट केन्द्रलाई अझ उच्च संस्थाका रूपमा विकास गर्न सकिने बताए ।

‘गंगालाल आज जहाँ छ, त्यो हामी सबैले गर्दा नै हो। हजुरहरूकै परिश्रम र कामले गर्दा आज हामी यहाँ आइपुगेका छौं। यही कामबाट नै हामी अगाडि बढ्नेछौं र गंगालाललाई योभन्दा पनि अझ उच्च संस्थाका रूपमा देखाउन सक्छौं,’ उनले भने ।

मुटुरोग विशेषज्ञका लागि गंगालाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रख्यात केन्द्रका रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको पनि उनले बताए ।

अमात्यले समय परिवर्तनशील हुने भन्दै पूर्व कार्यकारी निर्देशकहरुको योगदानलाई आगामी दिनमा पनि सम्मान गरिने बताए ।

‘समय यस्तै हो, समयले कसैलाई कुर्दैन र हामी अगाडि बढ्दै जान्छौं। यहाँ पाल्नुभएका र आज बिदाइ हुन लाग्नुभएका पूर्व कार्यकारी निर्देशकलाई हामी परिवारकै रूपमा लिनेछौं । उहाँको पद सकिए पनि उहाँको योगदानलाई सधैं कदर गर्दै हामी अगाडि बढ्नेछौं,’ उनले भने ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा प्रा।डा। आशिष गोविन्द अमात्य गत साउन २२ गते नियुक्त भएका हुन् ।

यस्तै, उक्त कार्यक्रममा पूर्व कार्यकारी निर्देशक रवि मल्लले आफ्नो बिदाइ मन्तव्यमा आफू कार्यकारी निर्देशकमा आउँदा घाटामा रहेको संस्थालाई नाफामा लैजान सफल भएको दाबी गरे ।

उनले भने, ‘म आउनुअघि महिनामै डेढ–दुई करोडसम्म घाटामा गएको संस्थालाई हामीले डेढदेखि दुई करोड फाइदामा लगेका छौं । अनावश्यक च्यारिटीहरू रोकेर केन्द्रलाई घाटा नपारीकनै कर्मचारीहरूलाई सुविधाहरू दिइएको छ ।’

मल्लले नवनियुक्त कार्यकारी निर्देशक अमात्यलाई बधाई तथा शुभकामना दिँदै केन्द्रलाई अहिलेको अवस्थाभन्दा अझ माथि पु¥याउने विश्वास व्यक्त गरे ।

गंगालाल राष्ट्रिय हृदय केन्द्र आधुनिक कार्डियोलोजी सेन्टरका रूपमा स्थापना भएको उल्लेख गर्दै उनले केन्द्रले देशभरको मुटुरोग उपचार सेवामा उदाहरण प्रस्तुत गरेको बताए । तर केन्द्रको मूल उद्देश्य कुनै पनि बिरामीले पैसा अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने रहेको उनले स्मरण गराए ।

‘गंगालाल अर्को एउटा उद्देश्यले पनि स्थापना भएको थियो—कुनै पनि बिरामीले पैसा छैन भनेर उपचार नपाइकन फर्किनु नपरोस् । आजभोलि एक लाख डिपोजिट गराउनुपर्ने वातावरण बन्न लागेको जस्तो देखिएको छ, त्यस्तो नहोस्,’ मल्लले भने ।

पैसाको अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित हुने अवस्था आउन नदिन उनले नवनियुक्त निर्देशकलाई आग्रह गरे । केन्द्रमा रहेको फन्डलाई आवश्यक बिरामीको उपचारमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।

मल्लले केन्द्रले काठमाडौंमा मात्र सीमित नभई देशका विभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

‘अब हामीले यहाँबाट बाहिर जिल्ला–जिल्लामा गएर क्याम्पहरू पनि गर्नुपर्छ । त्यहाँका गरिब–दुःखीहरूले पनि हाम्रो प्राक्टिसहरूको सुविधा पाउनुपर्छ,’ उनले भने ।

उनले कार्डियाक अरेस्टको अवस्थामा जीवन बचाउन सीपीआर तालिमलाई पनि प्राथमिकता दिनुपर्ने बताए । पूर्व कार्यकारी निर्देशक मल्लले आफू अवकाशपछि पनि सामाजिक तथा च्यारिटी सेवामा सक्रिय रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा केन्द्रका चिकित्सक, कर्मचारी तथा पदाधिकारीहरूले नवनियुक्त कार्यकारी निर्देशक अमात्यलाई स्वागत तथा बधाई दिएका थिए भने पूर्व कार्यकारी निर्देशक मल्ललाई सम्मानसहित बिदाइ गरिएको थियो । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>