देश/प्रदेश
वनस्पति अनुसन्धान केन्द्रद्वारा जडीबुटीका बिरुवा वितरणसँगै किसानलाई तालिम

कैलाली, भदौ ३ –
वनस्पति अनुसन्धान केन्द्रअन्र्तगत रहेको देवहरिया वनस्पति उद्यान, धनगढीले किसानलाई जडीबुडीका बिरुवा वितरणसँगै तालिम पनि प्रदान गरेको छ ।
व्यावसायीक रूपमा जडीबुटीखेती गर्न इच्छुक किसान तथा व्यक्तिगत प्रयोजनको लागि बिरुवा रोप्ने व्यक्तिलाई आर्थिक वर्ष २०८२/८३ मा १८ हजार ८२६ विभिन्न प्रजातिका जडीबुटीका बिरुवा वितरण गरेको वनस्पति अनुसन्धान केन्द्र कार्यालयका निमित्त प्रमुख मदनराज भट्टले जानकारी दिनुभयो । ती बिरुवामा चिउँरी, नीम, तेजपात, शितल चिनी, कुरिलो, सर्पगन्धालगायत छन् ।
अनुसन्धान केन्द्रले वार्षिक ५० हजार विभिन्न प्रजातिका जडीबुटीका बिरुवा उत्पादन गर्ने लक्ष्य भए पनि लक्ष्यभन्दा बढी अर्थात् ५० हजार ५०० बिरुवा उत्पादन गरेको उहाँको भनाइ छ । केन्द्रले मापदण्ड बनाएर प्रत्येक आर्थिक वर्षमा जडीबुडीका बिरुवा वितरण गर्दै आएको छ भने सुदूरपश्चिम प्रदेशमा जडीबुडीखेती विस्तारसम्बन्धी तालिम पनि दिँदै आएको छ ।
गत आवमा धनगढीस्थित देवहरिया वनस्पति उद्यानमा चारवटा सामुदायिक वन उपभोक्ता समितिमा आबद्ध ३५ र चुरेगाउँपालिकास्थित फल्टुडेमा सामुदायिक वन तथा स्थानीय किसान २९ गरी ६४ जना किसानलाई जडीबुडीखेतीसम्बन्धी तालिम दिइएको कार्यालयका निमित्त प्रमुख भट्टले जानकारी दिनुभयो ।
उहाँले तालिम दिने क्षेत्रमा पाइने जडीबुटीको अवस्था के छ, खेती गर्न सकिन्छ कि सकिँदैन, त्यसको सम्भावना के छ, माटोको उर्वरा शक्ति कस्तो छ, अध्ययन गरी पहिचान गरेरमात्रै तालिम तय हुने गरेको बताउनुभयो ।
कार्यालयले आव २०८१/८२ मा पनि कैलालीको चुरे –३ मा २९ र चुरे –४ गर्भामा २५ गरी जम्मा ५४ जनालाई जडीबुडीखेतीसम्बन्धी तालिम दिइएको थियो । त्यस्तै कैलाली र कञ्चनपुरका पाँचवटा जडीबुडी समूह सहकारीलाई तालिम दिइएको थियो ।
त्यसैगरी, गत आवमा करिब चार हजार ५०० चिउरीका बिरुवा उत्पादन गरिएकामा त्यसमध्ये गोदावरी नगरपालिका–४ स्थित सामुदायिक वनलाई ३००, चुुरे गाउँपालिका–५ भगवती सामुदायिक वन उपभोक्ता समितिलाई एक हजार ५०० र चुरे–६ स्थित श्रीसिद्ध हरियाली सामुदायिका वन उपभोक्ता समितिलाई एक हजार चिउरीका बिरुवा वितरण गरिएको उहाँले बताउँनुभयो । चिउरीको पूmल माहुरीका लागि लाभदायिक हुन्छ भने यसको दानाबाट घिउ उत्पादन गर्न सकिन्छ ।
जडीबुडीखेती गर्ने समूह सहकरीलाई अनुसन्धान केन्द्रले अनुदानको व्यवस्था पनि गर्दै आएको कार्यालय प्रमुख भट्टले बनाउनुभयो । केन्द्रअन्तर्गतका देवहरिया वनस्पति उद्यानमा गत आव २०८२/ ८३ मा ५८ हजार ३० जनाले गरेको अवलोकन तथा भ्रमणबाट रु ११ लाख ७८ हजार ३२६ राजस्व सङ्कलन भएको थियो । आव २०८१/८२ मा एक लाख २२ हजार ८५९ जनाले गरेको अवलोकन तथा भ्रमणबाट रु २४ लाख ५५ हजार ६७५ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
प्राकृतिक हराभरा भएको वनस्पति अनुसन्धान केन्द्रअन्तर्गतको देवहरिया वनस्पति उद्यान १४९.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यसभित्र जखौर, मुरफुट्टा र मुरफुट्टी गरी तीनवटा प्राकृतिक ताल रहेका छन् । पर्यटक, पर्यावरणीय हिसाबले यो उद्यानको छुट्टै महत्व छ । रासस

























