देश/प्रदेश
माङसेबुङमा ‘अपाङ्गता भएका नागरिक घरपरिवारलाई बिमा कार्यक्रम’

इलाम, भदौ ३ –
यहाँको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अघि बढाएको छ । चालु आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममा ‘अपाङ्गता भएका नागरिक घरपरिवारलाई बिमा कार्यक्रम’ समावेश गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अघि बढाएको हो ।
कार्यक्रमका लागि सो गाउँपालिकाले चालु आवमा रु १२ लाख विनियोजन गरेको छ । अपाङ्गता भएका व्यक्ति र उनको परिवारको पाँच जनासम्मको स्वास्थ्य बिमाबापतको रकम गाउँपालिकाले तिरिदिने माङसेबुङ गाउँपालिकाले अध्यक्ष हेमन्त राईले बताउनुभयो ।
“अपाङ्गता भएका व्यक्ति र उनको परिवारको सदस्यसमेत गरी बढीमा पाँच जनासम्म सदस्यको वार्षिक प्रतिपरिवार रु तीन हजार ५०० गाउँपालिकाले तिरिदिनेछ”, उहाँले भन्नुभयो, “तोकिएको सीमासम्म बिमितले निःशुल्क सेवासुविधा पाउनेछन् ।” सो कार्यक्रम अपाङ्गता भएका व्यक्तिको सबै परिवारमा पुर्याउने अध्यक्ष राईले बताउनुभयो ।
स्वास्थ्य बिमाले पाँच जनाको परिवारलाई एउटा एकाइ मानेको र पाँच जनाभन्दा बढी सदस्य रहेको हकमा प्रतिव्यक्ति ७०० थप्नुपर्नेछ । गाउँपालिकाले थालेको ‘अपाङ्गता भएका नागरिक घरपरिवारलाई बिमा कार्यक्रम’ले अपाङ्गता भएका विपन्न तथा गरिब परिवारलाई राहत पुग्ने अपाङ्ग एकता समाज माङसेबुङका अध्यक्ष धनकुमार आङदेम्बेले बताउनुभयो ।
“अपाङ्ता भएका व्यक्तिलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु हुनु सकरात्मक कदम हो”, उहाँले भन्नुभयो, “आर्थिक अभावमा उपचारको समस्या झेल्दै आएका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बिमाले उपचारमा पहुँच बढाउनका साथै परिवारमाथिको आर्थिक भारसमेत कम गर्नेछ ।”
गाउँपालिका ३५५ अपाङ्गता भएका व्यक्ति रहेको माङसेबुङ गाउँपालिका अपाङ्गता सहायता सहजकर्ता मनिहाङ्मा लिम्बूले जानकारी दिनुभयो । उनीहरुमध्ये ‘क’ वर्ग अर्थात् पूर्ण असक्त अपाङ्ता भएका व्यक्तिको सङ्घीय सरकारले नै स्वास्थ्य बिमा गर्दै आएको छ । गाउँपालिकाले अन्य वर्गका अपाङ्गता भएका व्यक्ति र उनको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिनेछ । रासस

























