देश/प्रदेश

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

Banner

भद्रपुर (झापा), भदौ ३ –

जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न स्थानमा छवटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार निर्माण सम्पन्न भएका झोलुङ्गे पुलको कुल लम्बाइ २२८ मिटर रहेको छ ।

कार्यालयका अनुसार गौदह नगरपालिका–१ बाट कमल बासबारी जोड्ने सडकअन्तर्गत कृष्णखोलामा, गौरादह नगरपालिका–५ स्थित निरौला गाउँको चन्दु खोलामा र दमक नगरपालिका–८ र ९ स्थित जलपाथिभरा देवी जाने बाटोअन्तर्गत दिपेनी खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।

त्यस्तै, कचनाकवल गाउँपालिका–७ स्थित साविक बालुवाडी–९ र वडा नं ३ जोड्ने बालुवा खोलामा, बिर्तामोड नगरपालिका–२ र कनकाई नगरपालिका–९ जोड्ने स्थानमा तथा बाह्रदशी गाउँपालिकाको कटहरडाँगी जाने बाटोअन्तर्गत अनुवा खोलामा पनि झोलुङ्गे पुल निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।

यसैगरी, गत आवमै मेचीनगर नगरपालिका–४ र भद्रपुर नगरपालिका–९ जोड्ने फुलबासा खोलामा ५० मिटर लामो मोटरेबल सडक पुल निर्माण सम्पन्न भएको कार्यालयका प्रमुख महतोले जानकारी दिनुभयो ।

पूर्वाधार निर्माणतर्फ कार्यालयले गत आवमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ । यस्तै, ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसिसी ढलान र ९०० मिटर सडक मर्मतसम्भार गरिएको कार्यालयले जनाएको छ । गत आवका लागि कार्यालयलाई रु एक अर्ब ५१ करोड १४ लाख ७८ हजार बजेट विनियोजन भएकामा रु एक अर्ब पाँच करोड ४५ लाख ६४ हजार ५४० खर्च भएको छ ।

कार्यालयका अनुसार पुल तथा सडक निर्माणका यी कामले जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रलाई सडक सञ्जालसँग जोड्न तथा स्थानीय बासिन्दाको आवागमन सहज बनाउन योगदान पुर्याएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>