देश/प्रदेश
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

राँझा (बाँके), भदौ ३ –
जिल्लामा पर्यटन प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुन्जलाई ‘ब्रान्डिङ’ गरी प्रचारप्रसार गरिने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकासहित आठवटै स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरी निकुन्जको प्रचारप्रसार गरिने बाँके राष्ट्रिय निकुन्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो ।
उहाँका अनुसार मङ्गलवार कोहलपुरमा भएको सरोकारवाला निकायको समन्वयात्मक बैठकले डुडुवा नाका, राँझा चोक, नेपालगन्ज विमानस्थल र कोहलपुर चौराह चोकमा ठूला होर्डिङ बोर्ड तथा सूचना बोर्ड राखेर निकुन्जको प्रचारप्रसार गर्ने निर्णय भएको छ । कोहलपुर नगरपालिका, बाँके राष्ट्रिय निकुन्ज, नेपाली सेना तथा अन्य सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने पनि निर्णय गरिएको छ ।
कँडेलले पर्यटन प्रवरद्धनका लागि बाँके निकुन्जमा आवश्यक पूर्वाधार निर्माण भएर सफारीका लागि तयारी अवस्थामा रहेको बताउनुभयो । अघिल्लो आर्थिक वर्षभन्दा तेब्बर बढी पर्यटकले निकुन्जमा सफारी गरेको उहाँले जानकारी दिनुभयो । निकुन्जमा पर्याप्त मात्रामा घाँसेमैदान, कृत्रिम ताल, मचान, वनपथ निर्माण गरिएको उहाँको भनाइ छ ।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बाँके राष्ट्रिय निकुन्ज संरक्षणसँगै पर्यटन प्रवर्द्धन र स्थानीय विकासलाई जोडेर अघि बढ्ने विषयमा आफू सदैव सकारात्मक रहेको बताउनुभयो । नगरप्रमुख आचार्यले निकुन्ज कार्यालयसँग सहकार्य गरेर आफूहरूले सचेतनामूलक काम गरेको बताउँदै नगरपालिकासँगै जोडिएको निकुन्जको पर्यटन प्रवर्द्धन गर्न आफूहरू जहिले पनि साथमा रहेको प्रष्ट पार्नुभयो ।
बाँके राष्ट्रिय निकुन्जमा पर्यटन प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुन्ज कार्यालय, जेडएसएल, इन्रुडेक, सामुदायिक वन उपभोक्ता महासङ्घलगायतका सङ्घसंस्था क्रियाशील रहेका छन् । पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुन्ज पर्यटकको पर्खाइमा रहेको छ ।
निकुन्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक पर्ने सबै संरचना तयार गरिएको छ । निकुन्ज घुम्नका लागि पैदल मार्ग, हात्ती सफारी, बास बस्न घरबास ९होमस्टे०, राप्ती नदीमा जलविहारलगायतको व्यवस्था छ । निकुन्ज घुम्न आउने पर्यटकलाई लक्षित गरी नेपालगन्ज र कोहलपुरमा तारे होटल तथा निकुन्ज छेउछाउ होमस्टे सञ्चालन गरिएको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो । रासस

























