चितवन विशेष

नारायणीको कटान नियन्त्रणमा सुस्तामै खटिए आयोजना प्रमुख

Banner

नवलपरासी, साउन ३१-

पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले तटबन्धको माथिल्लो भाग तीव्र रूपमा कटान गरेपछि तटीय बस्ती गम्भीर जोखिममा परेको छ। नदी नियन्त्रण तथा सम्भावित क्षति रोक्न नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख डा नारायण प्रसाद सुवेदी आफैँ कार्यस्थलमा खटिएर बचाउ कार्यको नेतृत्व गरिरहेका छन्।

विगत एक सातादेखि सुस्तामै डेरा जमाएर बसेका डा सुवेदीले प्राविधिक निर्देशन मात्र दिएका छैनन्, आफैँ बालुवाका बोरा भर्ने, पर्कुपाइन सेट गर्ने र पर्खाल निर्माणमा हातेमालो गरिरहेका छन्। लगातारको शारीरिक श्रमका कारण उनमा ढाडको समस्या देखिए पनि नदी कटानको गम्भीरतालाई ध्यानमा राख्दै उनले कार्यस्थल छाडेका छैनन्।

आयोजना प्रमुख स्वयं फिल्डमा उत्रिएपछि स्थानीयवासी र कामदारहरूमा थप उत्साह र भरोसा पैदा भएको छ। सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार राष्ट्रिय सेवक कर्मचारी यसरी आफैँ मैदानमा उत्रिएर काम गर्दा विपद्को घडीमा स्थानीय समुदायले ठूलो राहत र हौसला महसुस गरेका छन्।

आफ्नो सक्रियताबारे डा सुवेदी भन्छन्, ‘यो देखावटी होइन, नागरिकको सुरक्षा मेरो प्राथमिक दायित्व हो। विपद्को समयमा प्राविधिक टोली र स्थानीय समुदायसँग काँधमा काँध मिलाएर काम गर्दा मात्र संकट टार्न सकिन्छ।’

हाल सयौँको संख्यामा स्थानीयवासी, प्राविधिक र कामदारहरू निरन्तर कटान नियन्त्रणमा जुटिरहेका छन्। स्थानीय तह र आयोजनाको स्रोत साधन प्रयोग गरी बचाउ कार्य तीव्र बनाइए पनि स्थिति नियन्त्रणबाहिर जान नदिन माथिल्लो निकाय तथा मन्त्रालयबाट तुरुन्तै थप प्रशासनिक, आर्थिक र प्राविधिक सहयोग पुर्‍याउनुपर्ने आवश्यकता देखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>