देश/प्रदेश

चन्द्रपुरमा ‘सम्बन्ध राम्रो’ भन्दै सरुवाको पत्र

Banner

रौतहट, साउन २९–

चन्द्रपुर नगरपालिकामा नगर प्रमुख सञ्जयकुमार काफ्लेले प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालसँग आफ्नो सम्बन्ध राम्रो रहेको दाबी गरे पनि मन्त्रालयमा उनकै सरुवाको माग गरेको पत्र सार्वजनिक भएपछि नगरभित्रको विवाद थप पेचिलो बनेको छ।

साउन २६ गते आयोजित पत्रकार सम्मेलनमा मेयर काफ्लेले ढकाललाई प्रशासनिक तथा कानुनी विषयमा जानकार र सक्षम कर्मचारीका रूपमा प्रस्तुत गरेका थिए। उनले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कुनै समस्या नरहेकोसमेत बताएका थिए।

तर साउन १७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको पत्रमा ढकालले जनप्रतिनिधि र कर्मचारीसँग समन्वय गर्न नसकेको, कार्यसम्पादन सन्तोषजनक नरहेको तथा उनीविरुद्ध जनगुनासो रहेको दाबी गर्दै सरुवाको माग गरिएको बताइएको छ।

सार्वजनिक अभिव्यक्तिमा प्रशंसा र सरकारी पत्रमा असन्तुष्टि—मेयर काफ्लेको यही विरोधाभास अहिले चन्द्रपुरमा बहसको विषय बनेको छ। नगरवासीले समेत अधिकृतसँग वास्तवमै समस्या नभए सरुवा माग्नुको कारण के हो भन्ने प्रश्न उठाएका छन्।

नगर स्रोतका अनुसार ढकालले कार्यालयको खर्च प्रणालीमा कडाइ गरेपछि विवाद बढेको हो। इन्धन, विविध खर्च तथा अन्य आर्थिक गतिविधिमा नियन्त्रण बढाउँदा विगतको खर्च प्रणाली प्रभावित भएको र त्यसबाट राजनीतिक नेतृत्व असन्तुष्ट बनेको स्रोतको दाबी छ।

यसैबीच केही कर्मचारीमाथि कार्यालयमै दबाब दिने र प्रशासनिक वातावरण बिगार्ने प्रयास भएको आरोप पनि लगाइएको छ।

विवाद समाधानका लागि उपप्रमुख र केही वडाध्यक्षले पहल गरे पनि परिणाम आउन सकेको छैन। उल्टै नगरपालिकाको खाता सञ्चालन र प्रशासनिक निर्णयमा देखिएको अन्योलले नियमित काम प्रभावित हुने जोखिम बढाएको छ।

खाता सञ्चालनमा अवरोध भए कर्मचारी तथा शिक्षकको तलब, अत्यावश्यक खरिद, विपद् व्यवस्थापन र अन्य सेवामा असर पर्न सक्ने बताइएको छ। किसानका लागि आवश्यक पशु स्वास्थ्य सामग्री खरिदमा समेत समस्या देखिएको दाबी गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>