स्वास्थ्य

पूर्वप्रहरी कर्मचारी र द्वन्द्वपीडित परिवारलाई केएमसी र नोबेलमा विशेष छुट

Banner

काठमाडौँ, २९ साउन –

पूर्वप्रहरी कर्मचारी तथा द्वन्द्वपीडित परिवारले काठमाडौं मेडिकल कलेज ९केएमसी० तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा स्वास्थ्य उपचारमा विशेष छुट तथा सुविधा पाउने भएका छन् ।

यसका लागि पूर्वप्रहरी कर्मचारी परिषद् नेपाल र काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच शुक्रबार सम्झौता भएको छ ।

सम्झौताअनुसार परिषद्मा आबद्ध पूर्वप्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवारका सदस्य बिरामी भई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल तथा काठमाडौं मेडिकल कलेजअन्तर्गतको अस्पतालमा जाँदा विभिन्न उपचार सेवामा छुट पाउनेछन्। विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा पनि सम्झौताअनुसार उपचारमा छुटको व्यवस्था गरिएको छ।

दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना भई उपचार गराउँदा अस्पतालले उपलब्ध गराउने अन्तरंग विभागका सबै सेवाको शुल्कमा शतप्रतिशत छुट दिइने छ । द्वन्द्वका क्रममा अंगभंग भएका वा मृत्यु भएका सदस्यका आमा, बुवा, श्रीमान् वा श्रीमती तथा नाबालक दुई जना छोराछोरीले यो सुविधा पाउनेछन्।

यसैगरी, परिषद्मा आबद्ध अन्य पूर्वप्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवारका सदस्यले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना भई उपचार गराउँदा अन्तरंग विभागका सेवामा ५० प्रतिशत छुट पाउनेछन्। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना भई उपचार गराउँदा २५ प्रतिशत तथा विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार गराउँदा २० प्रतिशत छुट उपलब्ध हुने सम्झौतामा उल्लेख छ।

सम्झौताअनुसार द्वन्द्वपीडितमध्ये पाँच जनासम्मलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध गराइनेछ। अस्पताल पुगेको २४ घण्टाभित्र सम्बन्धित बिरामीको नाम उल्लेख भएको परिषद्को सिफारिसपत्र अस्पताललाई उपलब्ध गराउनुपर्ने सम्झौतामा उल्लेख छ। आकस्मिक उपचारका लागि आउने परिषद्मा आबद्ध बिरामीलाई २४ घण्टासम्म क्रेडिटमा उपचार सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। तर सम्झौताअनुसारको सुविधा प्राप्त गर्न २४ घण्टाभित्र परिचय खुल्ने सिफारिसपत्र अस्पतालमा अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

सम्झौतामा आईभीएफ, सीटीएमएस, कलेजो प्रत्यारोपण, क्याबिन बसाइ, प्लास्टिक तथा कस्मेटिक सर्जरीलगायतका सेवामा छुट लागू नहुने उल्लेख छ। त्यस्तै, इम्प्लान्ट, सर्जिकल सामग्री तथा उपचारमा प्रयोग हुने अन्य सामग्री र औषधिमा समेत छुट उपलब्ध हुने छैन।

सम्झौता २०८३ साउन २९ गतेदेखि २०८४ असार मसान्तसम्म एक आर्थिक वर्षका लागि मान्य हुनेछ। सम्झौताको कार्यान्वयनका क्रममा प्रत्येक छ महिनामा दुवै पक्षले समीक्षा गर्ने व्यवस्था गरिएको छ।

पूर्वप्रहरी कर्मचारी तथा द्वन्द्वपीडित परिवारलाई लामो समयसम्म स्वास्थ्य उपचार सहज, पहुँचयोग्य र सहुलियतपूर्ण बनाउने उद्देश्यले सम्झौता गरिएको परिषद्ले जनाएको छ । उपचारका कारण परिवारमा थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले विशेषगरी द्वन्द्वपीडित परिवारलाई बढी सुविधा दिने व्यवस्था गरिएको हो।

सम्झौतामा पूर्वप्रहरी कर्मचारी परिषद् नेपालका अध्यक्ष रमेश कुमार श्रेष्ठ तथा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले हस्ताक्षर गरेका छन्। काठमाडौं मेडिकल कलेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थासँग आबद्ध व्यक्तिलाई उपचारमा सहुलियत उपलब्ध गराउँदै आएको र सोही क्रममा पूर्वप्रहरी कर्मचारी तथा द्वन्द्वपीडित परिवारका लागि पनि सुविधा विस्तार गरिएको जनाएको छ ।

सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै पूर्वसांसद एवं कलेज सञ्चालक सुनिल शर्माले द्वन्द्वकालमा अंगभंग भएका, गत वर्षको जेन–जी आन्दोलनमा घाइते भएका प्रहरी र उनीहरुको परिवारका सदस्यले पैसा नभएर मृत्युवरण गर्नुपर्ने दिनको एक वर्षका लागि अन्त्य भएको बताए ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>