खेलकुद
दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने

काठमाडौं, साउन २८-
कर्णाली प्रदेशमा तय दशौं राष्ट्रिय खेलकुद आगामी मङ्सिर १६ देखि २९ गतेसम्म हुने भएको छ ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बसेको राखेपाको १२५औं बोर्ड बैठकले २०८१ सालमा नै आयोजना हुनुपर्ने दशौं राष्ट्रिय खेलकुद मङ्सिरमा गर्ने निर्णय गरेको हो । यद्यपि पाँचौं पटक दोस्रो खेलकुद आयोजनाको मिति सरिँदै आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दशौँ राष्ट्रिय खेलकुदका लागि अहिलेसम्म चार पटक मिति तय गरेका छन् । तर हरेक पटक कुनै न कुनै कारण देखाउँदै प्रतियोगिता स्थगित गरिएको छ ।
सुरुमा २०८१ सालमा आयोजना गर्ने तयारी गरिएको थियो । त्यसपछि विभिन्न चरणमा नयाँ कार्यतालिका सार्वजनिक गरियो । पछिल्लोपटक राखेपको १२३औं बोर्ड बैठकले प्रतियोगिता २०८३ वैशाखमा गर्ने निर्णय भए पनि आवश्यक तयारी पूरा हुन नसकेपछि त्यो मिति पनि कार्यान्वयन हुन सकेन ।
हरेक दुई वर्षको अन्तरमा हुने गरी २०३८ सालदेखि राष्ट्रिय खेलकुदको अवधारणा सुरु भएको हो । तर, देशको व्यवस्था परिवर्तनसँगै राजनीतिक अस्थिरताका कारण राष्ट्रिय खेलकुदको आयोजना प्रभावित हुँदै आएको छ।
अहिलेसम्म बीसौं संस्करण पूरा भएर २१औं संस्करणको तयारीमा जुट्नुपर्ने हो । तर, दशौं संस्करणको आयोजनामा पनि अझै अन्योलमा छ। २०७९ साल कात्तिक ३ गते नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशलाई २०८१ मंसिरमा अर्को राष्ट्रिय खेलकुद गर्ने गरी झन्डा प्रदान गरेका थिए । निवर्तमान सरकारले दसौं राष्ट्रिय खेलकुद गर्नका लागि बजेट विनियोजन र आयोजक कर्णाली प्रदेशले पूर्वधार निर्माण गरिसक्दा पनि तत्कालीन खेलकुदमन्त्री तेजुलाल चौधरीले पटकपटक मिति सार्दै आएका थिए।
राष्ट्रिय खेलकुदको इतिहासमा पहिलोपल्ट आयोजनाअगाडि नै बजेट विनियोजन भएको थियो भने तत्कालीन कर्णाली प्रदेश सरकारले झन्डै दुई अर्बभन्दा बढी लगानीमा पूर्वाधार निर्माण पनि गरिसकेको थियो । तर, खेलकुदमन्त्री चौधरीले नै दसौं राष्ट्रिय खेलकुद आयोजना रोकेका थिए । मन्त्री चौधरीले राखेपको १२२औं बोर्ड बैठकमा विरोधका बावजुद दसौं राष्ट्रिय खेलकुद आयोजना गर्न नसकिने निर्णय गराएका थिए ।

























