तनहुँ

कृषि विकास कार्यालय तनहुँद्धारा फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

Banner

दमौली (तनहुँ), साउन २७-

कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि गर्न कृषकलाई आवश्यक सामग्रीमा अनुदान उपलब्ध गराएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा सुन्तला बगैँचा स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत पाँच हेक्टर क्षेत्रफलका लागि रु पाँच लाख ६९ हजार अनुदान उपलब्ध गराएको हो । कार्यालय प्रमुख परशुराम अधिकारीले उक्त वर्षमा अनुदानका लागि रु सात लाख ५० हजार बजेट विनियोजन भएको थियो ।

अनुदान कार्यक्रममार्फत छ सय ३९ रोपनी क्षेत्रफलमा नयाँ सुन्तलाको बगैँचा विस्तार हुने भएको छ । उक्त कार्यक्रमबाट सात वटा सहकारी तथा समूहमा आबद्ध एक सय २९ जना कृषक लाभान्वित भएको अधिकारीले जानकारी दिनुभयो ।

नयाँ बगैँचामा लगाइएका सुन्तलाका बिरुवाले उत्पादन दिन थालेपछि आगामी चार वर्षपछिबाट वार्षिक करिब दुई सय मेट्रिक टन फलफूल उत्पादन हुने अनुमान गरिएको छ । नयाँ बगैँचा विस्तारसँगै जिल्लामा सुन्तलाको उत्पादन क्षेत्र बढ्ने र कृषकको आयआर्जनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
यस्तै कार्यालयले सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमका लागि ५० हेक्टर क्षेत्रफलमा रु ३० लाख बजेट विनियोजन गरिएकामा रु २८ लाख ९९ हजार खर्च भएको छ ।

बगैँचा सुदृढीकरण कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा यसअघि नै स्थापना गरिएका एक हजार सात सय ७७ रोपनी क्षेत्रफलका सुन्तला बगैँचालाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन आवश्यक सामग्रीमा अनुदान प्रदान गरिएको अधिकारीले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>