समाचार

पोखरा पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने

Banner

कास्की,साउन २६-

पोखराको पृथ्वीचोकमा वर्षौंदेखि सडक पेटी तथा फुटपाथबाट सञ्चालन हुँदै आएका लामो तथा छोटो दूरीका बस आजदेखि बसपार्कभित्रबाटै छुट्न सुरु गरेका छन् । सडक पेटीमा हुँदै आएको बस पार्किङ तथा यात्रु चढाउने–झार्ने कार्य हटाएर बसपार्कभित्रैबाट सेवा सञ्चालन गर्न सुरु गरिएको हो ।

सडक पेटी र फुटपाथमा बस तथा अन्य सवारीसाधनको अव्यवस्थित पार्किङका कारण पृथ्वीचोकदेखि चाइनापुलसम्मको क्षेत्र लामो समयदेखि अस्तव्यस्त रहँदै आएको थियो । फुटपाथसमेत बस सञ्चालन र यात्रु चढाउने–झार्ने कार्यमा प्रयोग हुँदा पैदलयात्रुले सास्ती खेप्दै आएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजितकुमार देवकोटाले पोखरा महानगरपालिकाभित्र सञ्चालन हुने नगर बसबाहेक जिल्ला बाहिर जाने तथा लामो दूरीका सबै बस बसपार्कभित्रबाटै सञ्चालन हुने व्यवस्था गरिएको बताउनुभयो ।

“जिल्ला बाहिर जाने र लामो दूरीका बसले सडकमा रोकेर यात्रु पर्खने, चढाउने र झार्ने गर्न मिल्दैन । यातायात व्यवसायीको सहयोगमा यसलाई व्यवस्थित गर्न खोजेका हौँ । यसबाट पृथ्वीचोकको अव्यवस्था हट्नुका साथै ट्राफिक व्यवस्थापन सहज हुनेछ”, उहाँले भन्नुभयो ।

बसपार्क अगाडि रहेका यातायात समितिका अव्यवस्थित टिकट काउन्टरसमेत हटाइने ट्राफिक प्रहरीले जनाएको छ । यसअघि पोखरा महानगरपालिकाले दुई वर्षअघि फुटपाथ तथा सडकबाट पार्किङ हटाएर बसपार्कभित्रैबाट बस सञ्चालन गर्ने प्रयास गरे पनि प्रभावकारी हुन सकेको थिएन । अब भने नियमित अनुगमन गरी निर्णय कार्यान्वयन गरिने ट्राफिक प्रहरीको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा पृथ्वीराजमार्ग बस कम्पनी प्रालिका अध्यक्ष एनकुमार साइले व्यवस्थित पोखरा निर्माणमा यातायात व्यवसायीको पूर्ण सहयोग रहने बताउनुभयो । उहाँले विगतमा बसपार्कभित्र पर्याप्त व्यवस्थापन नभएकाले सडक पेटीबाटै बस सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउँदै अहिले बसपार्कभित्रको अवस्था केही सहज भएकाले त्यहीँबाट सेवा सञ्चालन गर्न व्यवसायी तयार रहेको जानकारी दिनुभयो ।

“पोखरा पर्यटकीय राजधानी भएकाले यसलाई सुन्दर र व्यवस्थित बनाउन यातायात व्यवसायीको पनि जिम्मेवारी छ । हाम्रा चालक तथा कर्मचारीलाई बसपार्कभित्रैबाट यात्रु चढाउने र झार्ने व्यवस्था गर्न निर्देशन दिइसकेका छौँ”, अध्यक्ष साइले भन्नुभयो ।

पोखरा महानगरपालिकाले दुई महिनाअघि बसपार्कभित्र रहेका केही व्यापारिक संरचना हटाएपछि बसपार्क क्षेत्र केही व्यवस्थित बनेको छ । सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा २०५ रोपनी जग्गा अधिग्रहण गरिए पनि हालसम्म व्यवस्थित बसपार्क निर्माण हुन सकेको छैन ।

लामो समयदेखि बसपार्कको समस्या समाधान हुन नसक्दा पृथ्वीचोकको सडक तथा फुटपाथ नै अस्थायी बसपार्कजस्तो प्रयोग हुँदै आएको थियो । पछिल्लो समय बसपार्कभित्रका अतिक्रमित संरचना हटाउने र व्यवस्थित बसपार्क निर्माणको प्रक्रिया अघि बढाइएकाले पृथ्वीचोकको ट्राफिक व्यवस्थापन सुधार हुने अपेक्षा गरिएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>