मकवानपुर

प्राचीन धर्मग्रन्थ सङ्कलन गर्दै हेटौँडाको धार्मिक पुस्तकालय

Banner

बागमती, साउन २५ –

हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटस्थित संस्कृत वेद विद्यालयमा अवस्थित पुस्तकालयमा प्राचीन धर्मग्रन्थ सङ्कलनलाई अभियानका रुपमा अघि बढाइने भएको छ ।

विक्रम संवत् २०५६ मा विद्यालय स्थापना भएदेखि नै विद्यार्थीका लागि अत्यावश्यक पुस्तक सङ्कलनबाट सुरु गरिएको पुस्तकालयलाई थप व्यवस्थित गर्दै प्राचीन महत्वका धार्मिक पुस्तक सङ्कलन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।

पुस्तकालयमा हाल करिब २५० को सङ्ख्यामा मात्रै पुस्तक सङ्कलित भएको बताउँदै उहाँले प्राचीन महत्वका धार्मिक पुस्तक उपलब्ध गराउन सबैमा आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार पुस्तकालयलाई व्यवस्थित बनाउनका लागि बागमती प्रदेशको पर्यटन मन्त्रालयले गत आर्थिक वर्ष २०८१/०८२ मा रु दुई लाख उपलब्ध गराएकोे थियो ।

“हामी पुस्तकालयलाई प्राचीन धर्मग्रन्थ सङ्कलन गरी अध्ययन अनुसन्धानको केन्द्रका रुपमा विकास गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो, “कोही कसैसँग घरमा यसै थन्किएर रहेका प्राचीन महत्वका धर्मग्रन्थ छन् भने पुस्तकालयलाई सहयोगस्वरुप उपलब्ध गराउन अनुरोध छ ।”

पुस्तकालयमा उपलब्ध गराइएका पुस्तक जो कोही विद्यार्थी तथा अनुसन्धाता सबैका लागि उपयोगी हुनाका साथै वर्षौंसम्म सुरक्षित रहने उहाँले बताउनुभयो । देशका विभिन्न जिल्लाबाट आएका करिब ५० जना बटुक अध्ययनरत त्यस विद्यालयले ४० जनालाई आवासीय सुविधा उपलब्ध गराउँदै आएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>