देश/प्रदेश
काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

भद्रपुर (झापा), साउन २३ –
पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा पनि बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा व्यापार घाटा ४० दशमलव ८५ प्रतिशतले बढेर रु ३६ अर्ब ३८ करोड नाघेको हो ।
आव २०८१/८२ को असारसम्म काँकरभिट्टा नाका भएर रु २५ अर्ब ८३ करोड १० लाख ६४ हजार बराबरको व्यापार घाटा रहेकामा आव २०८२/८३ को सोही अवधिमा रु १० अर्ब ५५ करोड १९ लाख ७८ हजारले वृद्धि भई रु ३६ अर्ब ३८ करोड ३० लाख ४२ हजार पुगेको छ ।
समीक्षा अवधिमा यस नाकाबाट हुने आयात (पैठारी) २२ दशमलव ७१ प्रतिशतले बढेको छ । आव २०८१/८२ मा रु ५१ अर्ब आठ करोड ६५ लाख आठ हजार बराबरको सामान आयात भएकोमा गत आव २०८२/८३ मा रु ११ अर्ब ६० करोड नौ लाख १८ हजारले बढेर रु ६२ अर्ब ६८ करोड ७४ लाख २६ हजार पुगेको छ ।
सोही अवधिमा निर्यात (निकासी) तर्फ चार दशमलव १५ प्रतिशतको वृद्धि दर्ता भएको छ । आव २०८१/८२ को असारसम्म रु २५ अर्ब २५ करोड ५४ लाख ४४ हजारको वस्तु निर्यात भएकामा आव २०८२/०८३ मा रु एक अर्ब चार करोड ८९ लाख ३९ हजारले बढेर रु २६ अर्ब ३० करोड ४३ लाख ८३ हजार पुगेको छ ।
आयात र निर्यात दुवैमा वृद्धि भएसँगै कूल वैदेशिक व्यापार १६ दशमलव ५७ प्रतिशतले बढेर रु ८८ अर्ब ९९ करोड १८ लाख १० हजार पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कूल वैदेशिक व्यापार रु ७६ अर्ब ३४ करोड १९ लाख ५३ हजार रहेको थियो ।
पूर्वी नाकाबाट हुने कूल व्यापारमा आयातको वर्चस्व झन् बढेको छ । आयात(निर्यात अनुपातको हिसाब गर्दा आव २०८१र८२ मा रु एकको निर्यात गर्दा रु दुई दशमलव शून्य दुईको आयात हुने गरेकामा गत आवमा अनुपात बढेर रु दुई दशमलव ३८ पुगेको छ ।
कूल व्यापारमा निर्यातको हिस्सा ३३ दशमलव शून्य आठ प्रतिशतबाट घटेर २९ दशमलव ५६ प्रतिशतमा सीमित भएको छ भने आयातको हिस्सा ६६ दशमलव ९२ प्रतिशतबाट बढेर ७० दशमलव ४४ प्रतिशत पुगेको छ । रासस

























