देश/प्रदेश

हलेसीमा चाम्लिङ सामुदायिक घरबासः खाना र आवासको व्यवस्था

Banner

खोटाङ, साउन २३ –

हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित ऐसेलुखर्कका राई चाम्लिङ समुदायले सामुदायिक होमस्टे(घरबास)सञ्चालनमा ल्याएका छन् । पर्यटकलाई स्थानीय अर्गानिक परिकारको स्वाद चखाउने र चाम्लिङ राई समुदायको संस्कृति अनुभूति गराउने उद्देश्यसहित घरबास सञ्चालनमा ल्याइएको हो ।

त्रिधार्मिकस्थल हलेसीबाट करिब एक किलोमिटर दूरीमा रहेको उक्त घरबास पर्यटकको रोजाइमा पर्ने राई चाम्लिङ समुदायले विश्वास गरेको छ । घरबासमा आउने पाहुनाले स्थानीय जातका कुखुराको मासु, ढिँडो, गुन्द्रुकको अचारलगायत परिकारसँगै स्थानीय संस्कृति नजिकबाट बुझ्ने अवसर पाउनेछन् ।

‘कोदोको सुगन्ध, संस्कृतिको सम्बन्ध’ नारासहित सुरु गरिएको घरबासमा आउने पाहुनाका लागि सस्तो दररेट निर्धारण गरिएको छ भने आवासमा प्रतिशय्या रु २०० र एकजनाले खाने सादा खानाको मूल्य रु २०० तोकिएको छ । त्यसैगरी स्थानीय जातका कुखुराको मासु रु १५०, ब्रोइलर रु १००, राँगा रु १००, सुँगुर रु १००, खसी रु १५०, शाकाहारी खाजा रु १५०, स्थानीय जातका अण्डा रु ४० मा उपलब्ध हुने राई चाम्लिङ समुदायले जनाएको छ ।

घरबासमा आएर बस्ने पाहुनाका लागि स्थानीय भाले प्रतिकिलो रु ९०० मा उपलब्ध गराउने व्यवस्था मिलाइएको सञ्चालकहरूले बताएका छन् । घरबासमा खान र बस्नका साथै किरात संस्कार तथा संस्कृति अध्ययन गर्न, साकेला सिलीसमेत अवलोकन गर्न पाइने जनाइएको छ । पेय पदार्थतर्फ तोङ्बा रु २०० तथा ब्रान्डिङ गरिएको कोदोको तीनपाने रक्सी एक हजार एमएलको रु ९१०, ५०० एमएलको रु ५०० र २५० एमएलको मूल्य रु २५० तोकिएको छ ।

स्थानीय ३० घरका चाम्लिङ राईहरूको सहभागितामा सञ्चालन गर्ने लक्ष्यसहित सुरु गरिएको घरबासमा हाल आठ परिवार सहभागी भएका छन् । नगरपालिकाको लगानीमा सामुदायिक घरबास सञ्चालन भएपछि पर्यटक आउन थालेका छन् ।

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा हरेक वर्ष लाखौँ पर्यटक आउने भएकाले उनीहरूलाई स्थानीयस्तरमा सेवा दिने लक्ष्यका साथ घरबास सञ्चालन गरिएको नगरप्रमुख विमला राईले बताउनुभयो । “स्थानीय उत्पादन, संस्कृति र आम्दानीलाई जोड्ने उद्देश्यले घरबास सञ्चालनमा ल्याएका हौँ । तत्कालका लागि दैनिक ४० जना पाहुनालाई राख्न मिल्ने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “यो होटल व्यवसायीसँगको प्रतिस्पर्धा होइन । यसको छुट्टै विशेषता छ ।”

नगरपालिकाले दुई वर्षदेखि पूर्वाधार तयारी गरेको जनाउँदै पहिलो वर्ष सडक स्तरोन्नति तथा ग्राभेल गरिएको र दोस्रो वर्ष सिँढी बाटो निर्माण, तालिम र कोदोको तीनपाने रक्सी ब्रान्डिङ गरिएको नगरप्रमुख राईले जानकारी दिनुभयो । उहाँका अनुसार ब्रान्डिङ गरिएको रक्सीलाई ‘बोतलिङ’ र ‘लेबलिङ’ गरी बजारमा ल्याइएको छ ।

नगरपालिकाको पहलमा उत्पादन गरिएको स्थानीय (लोकल) रक्सीको अल्कोहल नाप्ने उपकरणसमेत प्रयोग गरिएको छ । तालिम प्राप्त महिलाले उत्पादन गरेका रक्सीमा ४५ देखि ५० प्रतिशतसम्म अल्कोहल हुने जनाइएको छ ।

उत्पादित रक्सीलाई नगरपालिकाले कार्यविधि बनाएर घरबासमार्फत मात्रै बिक्रीवितरण गर्ने व्यवस्था मिलाइएको जनाएको छ । कानुनी रूपमा उत्पादन तथा बिक्रीवितरणमा प्रतिबन्ध रहेको कोदोको रक्सीलाई नगरपालिका आफँैले प्रवर्द्धनको काम सुरु गरेपछि स्थानीयले रोजगारसमेत पाएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>