देश/प्रदेश
नियमित कोटाको रासायनिक मल वितरण गरिँदै

जनकपुरधाम, साउन २३ –
कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणमा नियमित कोटाको रासायनिक मल वितरण सुरु गरेको छ । धनुषा र महोत्तरीमा धान रोपाइँ अन्तिम चरणमा पुगेका बेला सो कार्यालयले नियमित कोटाको डिएपी र युरिया मलको वितरण सुरु गरेको हो ।
मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको यही साउन ११ गते निर्णयअनुसार धनुषाका लागि ९७९ मेट्रिक टन डिएपी र ९२६ मेट्रिक टन युरिया तथा महोत्तरीका लागि ९३१ मेट्रिक टन डिएपी र ८८० मेट्रिक टन युरिया वितरण सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका सूचना अधिकारी बेचन साहले जानकारी दिनुभयो ।
सूचना अधिकारी साहका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडको वीरगञ्जस्थित प्रादेशिक कार्यालयबाट मल ढुवानी भएसँगै जिल्लामा स्थानीय तहहरूको सिफारिसअनुसार मलको वितरण सुरु गरिएको हो ।
मलको वितरणसँगै जिल्लामा केही समय अघिसम्म रहेको मलको अभाव विस्तारै हट्दै गएको छ । साउनको दोस्रो साता थप युरिया र डिएपी मल प्राप्त भएकाले मलको अभाव हटेको उहाँको भनाइ छ । उहाँका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड, जनकपुरधाम धनुषामा हाल २ दशमलव ६ मेट्रिक टन युरिया मौज्दात रहेको छ । सुनसरी र सिरहाको घटनापश्चात् स्थानीय प्रशासनहरूले जारी गरेको कर्फ्यु र निषेधाज्ञाका कारण केही दिन मलको ढुवानी हुन नसक्दा केही समस्या भए पनि विस्तारै ढुवानी सुरु भइसकेकोले मल सहज भएको उहाँले बताउनुभयो । रासस

























