देश/प्रदेश
कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत

महेन्द्रनगर, साउन २२-
अघिल्ला वर्षका तुलनामा ४०० मेट्रिकटन रासायनिक मल उपलब्ध गराइए पनि व्यवस्थापन र वितरण कार्य विधिलाई बेवास्ता गरिएका कारण जिल्लामा मलको अभाव देखिएको गुनासो गरिएको छ ।
कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरका प्रबन्धक हेमराज जोशीले यसवर्ष सात हजार ५०० मेट्रिकटनभन्दा बढी अनुदानको मल बिक्री वितरण हुँदा पनि अभाव देखिनुलाई आफूले आश्चर्य मानेको प्रतिक्रिया दिनुभयो ।
नौ वटा पालिका रहेको कञ्चनपुरमा गत वर्ष छ वटा पालिकामा सात हजार १०० मेट्रिकटन अनुदानको मल सहकारीमार्फत बिक्री वितरण हुँदा त्यस बेला मल अभावको स्वर नसुनिएको उहाँले स्पष्ट पार्नुभयो ।
स्थानीय बेलौरी, पुर्नवास नगरपालिका र लालझाडी गाउँपालिकाका किसानले अनु्दानको मल धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडबाट लैजाने गरेका छन् ।
शाखा प्रबन्धक जोशीले भन्नुभयो, “मल वितरणको विषय अनुसन्धान गर्नुपर्ने देखियो । पालिकाबाट अनुगमन आवश्यक छ । प्रशासन र हामीले मात्रै मल वितरणको नियमन गरेर पुगेन ।” कञ्चनपुरका छ वटा पालिकाकालाई ११० सहकारीमार्फत मल वितरण भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “सहकारीले पालिकाले तोकेको मूल्यभन्दा बढी रकम असुलेर मल वितरण गर्न पाइँदैन, सहकारीलाई युरिया प्रतिबोरा रु ९४४ मा उपलब्ध गराइएको छ ।”
उक्त कार्यालयका अनुसार यसवर्ष गत वर्षभन्दा ५०० मेट्रिकटन युरिया मल बढी बिक्री भइसकेको छ । गत वर्ष पुर्नवास, लालझाडी र बेलौरीका किसानलाई महेन्द्रनगर शाखाबाटै मल वितरण गरिदा पनि सात हजार मेट्रिकटन वितरणले पुग्ने गरेको वितरण संस्थाले जनाएका छन् ।
प्रबन्धक जोशीले भन्नुभयो, “यसपटक तीन वटा पालिकालाई घटाएर सात हजार ५०० मेट्रिकटन मल वितरण हुँदा अभाव देखिनुले वितरणमा अनियमितताले शङ्का पैदा गरेको छ ।”
यसैबीच, कञ्चनपुरको बेलौरी नगरपालिका–२ गोकुलपुरका तीन जना किसान सिमावर्ती भारतीय बजारमा युरिया मल सहित बिहीबार पक्राउ परेकामा जरिवाना तिरेर फर्केका बेलौरी नगरपालिका–२ का अध्यक्ष कलबीर चौधरी पक्राउ जानकारी दिनुभयो ।
उहाँका अनुसार, गोकुलपुरका धनबहादुर चौधरी, रमेश चौधरी र विकास चौधरीलाई भारतीय सुरक्षा बलले पक्राउ गरेकोमा उहाँहरु जनही रु एक हजार जरिवाना तिरेर घर फर्कनुभएको हो । रासस

























