देश/प्रदेश
मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम, साउन २२ –
मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन् ।
पछिल्ला पाँच वर्षमा ९९ वटा ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय जनकपुरधामका प्रशासन प्रमुख कालिचरण यादवले राससलाई जानकारी दिनुभयो ।
उहाँले ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकाले चोरीको घटना बढेको बताउनुभयो ।
महोत्तरीबाट ३५, बारामा १५, धनुषामा १४, रौतहटमा १०, सर्लाही र सिरहामा नौ/नौ वटा, सप्तरीमा तीन वटा तथा पर्सामा दुई वटा ट्रान्सफर्मर चोरी भएका हुन् । चोरी भएका ट्रान्सफर्मरको क्षमता १५ केभिएका देखि २०० केभिएका छन् ।
ट्रान्सफर्मर चोरीले किसानलाई प्रत्यक्ष प्रभाव परेको छ । भनेको बेलामा सिँचाइ गर्न नपाएकाले उनीहरु प्रभावित भएका हुन् । कृषकले दोषीलाई शीघ्र पक्राउ गरी नयाँ ट्रान्सफर्मर जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले चोरी भएका ट्रान्सर्फमरको खोजी कार्य भइरहेको बताउनुभयो । रासस

























