देश/प्रदेश
बाँकेमा थपिए तीन हजार ७७६ मतदाता

नेपालगञ्ज, साउन २१-
निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँकेमा तीन हजार ७७६ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार राष्ट्रिय परिचयपत्रका आधारमा दुई हजार ५२९ र नागरिकताका आधारमा एक हजार २४७ जनाले मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् । राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार ३७१ पुरुष र एक हजार १५८ महिला तथा नागरिकताका आधारमा ६५७ पुरुष र ५९० महिलाले नाम दर्ता गराएका उहाँले बताउनुभयो ।
आयोगले सूचना जारी नगर्दासम्म निरन्तर मतदाता नामावली दर्ताको काम हुने उल्लेख गर्दै प्रमुख शाहीले युवा पुस्ताले धमाधम मतदाता नामावलीमा नाम दर्ता गराउन थालेका बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले अनलाइनबाट सेवा लिनेहरु बढ्दै गएका छन् ।” प्रमुख शाहीले जिल्लाका कोहलपुर, राप्तीसोनारी, डुडुवा, नरैनापुर, जानकी, खजुरालगायतका क्षेत्रबाट मतदाता नामावलीमा नाम दर्ता भइरहेको उल्लेख गर्दै त्रुटि सच्चाउने र अद्यावधिक गर्ने कार्य पनि जारी रहेको बताउनुभयो ।
अन्तिम नामावली प्रकाशन भएपछि मात्रै बाँकेमा कति मतदाता नयाँ थपिए भन्ने निक्र्यौल हुने उल्लेख गर्दै प्रमुख शाहीले बाहिरी जिल्लाका लागि पनि बाँकेबाट मतदाता परिचयपत्रका लागि नाम दर्ता भइरहेको बताउनुभयो ।
विसं २०८२ को निर्वाचनसम्ममा बाँकेबाट तीन लाख ५० हजार ३७१ जनाले मतादाता नामावलीमा नाम दर्ता गराएका थिए । तीमध्ये एक लाख ७२ हजार २२३ महिला र एक लाख ७८ हजार १३९ पुरुष रहेका थिए भने अन्य नौ जना रहेका थिए । आयोगले बाँकेमा २०८२ चैत २२ गतेदेखि मतदाता नमावलीका लागि नाम दर्ता गर्ने प्रक्रिया सुरु गरेको थियो । रासस

























