देश/प्रदेश
पहिले टिकट काटेर जानुपर्ने पोखराको सहिद पार्क आजकल सुनसान

पोखरा,साउन२१-
आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए, सडक साँघुरो थियो । सवारी आवतजावतमै असहज भएपछि २०७४ सालमा ती आइल्याण्ड भत्काइए ।
पृथ्वीचोक, अमरसिंह चोक, मुस्ताङचोक, बिरौटा चोक, जिरोकिलोमिटर, हरिचोकलगायत ठाउँका आइल्याण्डमा सहिद र विभिन्न व्यक्तित्वका सालिक पनि थिए । पृथ्वीनारायण शाह, पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारी, सहिद भीमसेन दाहाल, योगेन्द्रमान शेरचन, चोकबाट संकलन गरिएका सालिक राखेर २०७६ सालमा पोखरा महानगरपालिका–१८ जामुनबोटमा राष्ट्रिय विभूति तथा सहिद पार्क निर्माण गरियो ।
सुरुमा टिकट काटेर प्रवेश गर्नुपर्ने यो पार्कलाई पोखरा महानगरपालिकाले थप व्यवस्थित बनाउन सकेको छैन । यहाँ अहिले कुनै टिकट काट्नु पर्दैन । टिकट काटेर प्रवेश गर्नुपर्ने भन्ने विषयमा विरोध भएपछि महानगरपालिकाले पनि नयाँ ठेक्का खुलाएको छैन ।
खास यो पार्कमा सुरुमा सहिद, राष्ट्रिय विभूति गरेर १ सय ८ जनाको सालिक राख्ने महानगरपालिकाको योजना थियो । हालसम्म आधा दर्जन सालिक राखिएका छन् । अरु सालिक थप्नेबारे महानगरपालिकाले केही योजना पनि बनाएको छैन । मूर्ति राख्ने पीठिका मूर्तिको आधार वा पिँध बनाइएपनि ती खाली नै छन् ।
सुरुआतका दिनमा दैनिक ३ सय जनासम्म पुग्ने यो पार्क आजकल प्रायः सुनसान हुन्छ । मूर्तिबाहेक थप आकर्षणका अन्य गतिविधि हुन नसक्दा यहाँ जानेको संख्या आजकल कम भएको हो ।
पार्क ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

























