देश/प्रदेश
काठमाडौँका सडकमा असरल्ल तार

काठमाडौं,साउन २०-
काठमाडौँका बजार क्षेत्र टेलिफोन, इन्टरनेट र बिजुलीका अव्यवस्थित तारले कुरुप बनेका छन् ।
योजनाविहीन पूर्वाधार विस्तार, सेवा प्रदायकबीच समन्वयको अभाव, पुराना तथा प्रयोगविहीन तार समयमै नहटाइनु, पोलको सीमित क्षमता र भूमिगत पूर्वाधारको कमीले सहरभित्र अव्यवस्थित तारको समस्या बढेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ अन्तिममा काठमाडौँका विभिन्न ६ वटा मुख्य रुटमा टेलिफोन तथा इन्टरनेटका तार १५ दिनभित्र व्यवस्थापन गर्ने योजना अघि बढाएको थियो । गत असार अन्तिममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संयुक्त बैठकमा साउन १५ भित्र सबै तार व्यवस्थापन गर्ने गरी काम गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।
प्राधिकरणले त्रिपुरेश्वर–कालिमाटी–कलंकी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी टाउन प्लानिङ गोंगबु, कीर्तिपुर क्षेत्र र पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रका तार व्यवस्थित गर्ने योजना बनाएको थियो ।
तर, त्यसमा सोचअनुसार प्रगति हुन सकेन । यो काम सक्न अझै थप १५ दिन लाग्ने र साउन मसान्तभित्र सक्ने प्राधिकरणको भनाइ छ ।
जथाभावी झुन्डिएका र फैलिएका तारका कारण करेन्ट लाग्ने, आगलागी हुने तथा तार चुँडिएर दुर्घटना हुने जोखिम बढी हुन्छ । साथै, मर्मत–सम्भारका क्रममा कुन सेवा प्रदायकको तार हो भन्ने छुट्याउन कठिन हुने भएकाले सेवा अवरुद्ध हुने, समय र लागत बढ्ने तथा एउटा तार मर्मत गर्दा अर्को सेवा प्रभावित हुने समस्या देखिन्छ ।
प्राधिकरणले तारमा आफ्नो कम्पनीको पहिचान खुल्ने ट्याग राख्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो । यो पनि कार्यान्वयन हुन सकेको छैन । उपत्यकताको नयाँबजार, स्वयम्भू, बानेश्वरलगायत क्षेत्रमा देखिने तारको गुजुल्टो तस्बिरमा हेर्नुहोस् स्
तस्बिरहरू : सुर्याम्स उप्रेतीरनेपाल फोटो लाइब्रेरी

























