देश/प्रदेश
एक महिनालाई पुग्ने ग्यास भएका लाइनमा नबस्नु

काठमाडौँ, साउन १९-
बजारमा तत्काल ग्यासको अभाव नभएको दाबी गर्दै एलपी ग्यास उद्योग संघ नेपालले एक महिनालाई पुग्ने ग्यास भएका सर्वसाधरणलाई लाइनमा नबस्न आग्रह गरेको छ । बजारमा ग्यास अभाव भएका समाचार आएपछि आज (मंगलबार) विज्ञप्ती जारी गर्दै संघले एक महिनालाई पुग्ने ग्यास भएका सर्वसाधरणलाई लाइनमा नबस्न आग्रह गरेको हो ।
संघले विगत केही महिनाको कम आयातका कारण सिर्जिएको प्रभाव अझै बाँकी रहेको उल्लेख गर्दै अहिले १४.२ केजीका पूरा सिलिन्डर वितरण भइरहेको जानकारी दिएको छ। तर धेरै उपभोक्ताले एकैचोटि खाली सिलिन्डर भर्न ल्याउँदा बजारमा अस्थायी अभाव देखिएको बताएको छ।
‘आयात नियमित हुँदा पनि बजारमा ग्यास अभाव देखिनुको मुख्य कारण विगत ६ महिनाको अवधिमा करिब ४५ हजार मेटन ग्यास नियमित खपतभन्दा कम आयात हुँदा आवश्यकताभन्दा धेरै लामो समय आधा सिलिण्डरको प्रयोग हुनु हो। आम उपभोक्तासँग ग्यास पाइपिङका लागि ६ के.जि. भन्दा माथिको सबै खाली सिलिण्डरहरू एकै पटक भर्ने होडबाजी देखिएको छ’ संघले भनेको छ।
संघले कम्तीमा एक महिनासम्म पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई तत्काल लाइनमा नबस्न आग्रह गरेको छ। साथै विक्रेता र उद्योगीलाई पारदर्शी तथा व्यवस्थित ढंगले ग्यास वितरण गर्न र उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न अनुरोध गरेको छ।

























