देश/प्रदेश
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

भद्रपुर (झापा), साउन १९ –
झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ ।
कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार साउन १८ गतेसम्म जिल्लाको करिब ९४ प्रतिशत धानखेतीयोग्य क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ ।
स्थानीय तहअनुसार सबैभन्दा कम गौरीगञ्ज गाउँपालिका मा ८५ प्रतिशत रोपाइँ भएको छ भने दमक र कन्काई नगरपालिका मा ९८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।
बाँकी क्षेत्रमा पनि रोपाइँ तीव्र गतिमा भइरहेको र आगामी हप्ताभित्र जिल्लाभर धान रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ ।
झापामा कूल ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ, जुन जिल्लाको कुल भूभागको करिब ७६ प्रतिशत हो । धान उत्पादनका हिसाबले झापा देशकै प्रमुख जिल्लामध्ये एक मानिन्छ।
यस वर्ष समयमै मनसुन सक्रिय भएकाले अधिकांश किसानले अनुकूल समयमा धान रोपाइँ गर्न पाएका छन् । रासस



























