देश/प्रदेश

राजारानी हाइकिङः प्राकृतिक ज्ञान, अनुभव र प्रेरणाका लागि खुला पाठशाला

Banner

विराटनगर, साउन १८-

‘हाइकिङ’ भन्नासाथ अलिकति उकाले चढ्ने, नयाँ ठाउँ घुमफिर गर्ने, साथीभाइसँग रमाइलो गर्ने अनि तस्बिर खिच्ने कुराको झवाट्ट कल्पना आउँछ । तर कहिलेकाहीँ यात्रा केवल भ्रमणमा मात्र सीमित नरही जीवनभर सम्झिरहने अनुभव बन्न सक्छ । जहाँका प्रत्येक पाइला ज्ञानसँग जोडिन्छ, त्यहाँका दृश्यले प्रकृति प्रतिको प्रेम जगाउँछ । त्यस क्रममा प्राप्त जानकारीले समाज, संस्कृति तथा इतिहासलाई नजिकबाट बुझ्ने अवसर दिलाउँछ ।

विराटनगर–५ स्थित एभरेष्ट स्कुलका कक्षा १२ का विद्यार्थीका लागि शनिबारको दिन यस्तै अविस्मरणीय बन्यो । विद्यालयले आयोजना गरेको हाइकिङ टोली मोरङको लेटाङ नगरपालिका–१ स्थित प्राकृतिक तथा ऐतिहासिक महत्त्व बोकेको राजारानी क्षेत्रमा पुग्यो । त्यो यात्रा केवल पहाड चढ्ने वा ताल हेर्नेमा मात्र सिमित भएन, प्रकृति, इतिहास, जैविक विविधता, धार्मिक सद्भाव र स्थानीय संस्कृतिको साक्षात्कार गराउने जीवन्त पाठशाला बन्यो ।

बिहानै लेटाङ–२ को किराँत चोकबाट सुरु भएको पदयात्रा चुरे पहाडतर्फ सोझियो । करिब डेढ घण्टाको उकालो चढ्ने क्रममा शरीर पसिनाले निथ्रुक्क भिज्यो अनि खुट्टा पनि थाके, तर मन भने उत्साहले भरिएकै थियो । हरियाली जङ्गल, चराको चिरबिर, चिसो हावा र बाटोभरि फैलिएको प्राकृतिक सुन्दरताले यात्राको थकानलाई विस्तारै बिर्साइरहेको थियो ।

राजारानी ताल पुग्ने वित्तिकै विद्यार्थीहरूको अनुहारमा देखिएको उत्साहले त्यो यात्राको वास्तविक अर्थ झल्काइरहेको थियो । तालको शान्त वातावरण, वरिपरिको घना वन, हरियालीले ढाकिएका डाँडाहरू र प्रकृतिको अनुपम सौन्दर्यले सबैलाई रोमाञ्चित बनायो । त्यहाँ रहेका पानी सिमालीका रूख राजारानी क्षेत्रको अर्को आकर्षण थियो । ती रूखमा झुम्मिएका ४६ प्रजातिका सुनाखरीले विद्यार्थीलाई निकै रोमाञ्चित बनायो । पुस्तकमा मात्र पढेका जैविक विविधता र वनस्पतिको संसारलाई आफ्नै आँखाले देख्ने अवसर पाउँदा सबैमा उत्साह थपियो ।

त्यहाँ पुगेपछि छात्राछात्रले केवल वनस्पति मात्र देखेनन्, प्रकृतिको सन्तुलन, जैविक विविधताको महत्व र संरक्षणको आवश्यकता पनि बुझ्ने मौका पाए । प्रकृतिले आफैँ सञ्चालन गरिरहेको विशाल प्रयोगशालामा पुगेजस्तो अनुभूति भएको विद्यार्थीले बताए ।

राजारानी सामुदायिक वनका अध्यक्ष सुजन मगरले त्यस क्षेत्रको इतिहासबारे जानकारी गराउँदा विद्यार्थी गम्भीर अनि लठ्ठै भएर सुनिरहे । राजारानीलाई अजिङ्गरको राजधानी मानिने, धिमाल समुदायको उद्गमस्थलका रूपमा लिइने तथा त्यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्वबारे जानकारी दिँदा विद्यार्थीले पुस्तकबाहिरको इतिहाससँग साक्षात्कार गर्ने अवसर पाए ।

विद्यार्थी निश्चल न्यौपानेले भन्नुभयो, “हामी हाइकिङ भनेर आएका थियौँ, तर यहाँ आएपछि यो त खुला विश्वविद्यालयजस्तै लाग्यो । प्रकृति, इतिहास र वातावरणबारे यति धेरै कुरा सिक्न पाइयो कि यो यात्रा कहिल्यै बिर्सन सक्दिनँ ।” उहाँका अनुसार उकालो चढ्दाको थकान राजारानीको मनोरम दृश्यले एकैछिनमा हराइदियो। ‘कम्तीमा जीवनमा एकपटक त यहाँ आउनैपर्छ भन्ने महसुस भयो”, उहाँले भन्नुभयो ।

राजारानी भ्रमणको अर्को विशेष आकर्षण बन्यो लेटाङ नगरपालिकाले निर्माण गरेको अन्तर–धार्मिक पार्क । हिन्दू, बौद्ध, किराँत, इस्लाम र इसाई धर्मबीच सद्भाव र सहअस्तित्वको सन्देश दिने उद्देश्यले निर्माण गरिएको पार्कले विद्यार्थी, शिक्षक र सहभागी सबैको ध्यान तान्यो ।

पत्रकार पुष्पराज थपलियाका अनुसार यो पार्क केवल धार्मिक संरचना होइन, नेपाली समाजको विविधताभित्रको एकताको सशक्त प्रतीक हो । “नेपाल अनेक जातजाति, भाषा र धर्मको साझा घर हो । यस्ता संरचनाले हामी सबैलाई एउटै सूत्रमा बाँध्ने प्रेरणा दिन्छ”, उहाँले भन्नुभयो ।

भ्रमणको अर्को उल्लेखनीय पक्ष थियो स्थानीय सरकारको सहभागिता । लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र लावती र उपप्रमुख कृष्णकुमारी निरौला त्यस क्षेत्रमा उपस्थित भएर विद्याथीलाई स्वागत गर्नुभयो । उहाँहरुले राजारानी क्षेत्रको प्राकृतिक, जैविक, ऐतिहासिक तथा पर्यटन महत्वबारे विस्तृत जानकारी गराउनुभयो ।

शिक्षक रिषभ पाण्डेले भन्नुभयो, “स्थानीय जनप्रतिनिधि स्वयं उपस्थित भएर त्यस क्षेत्रबारे जानकारी दिनु अत्यन्त प्रेरणादायी थियो ।”

भ्रमणले साथीभाइ र शिक्षक–विद्यार्थीबीचको सम्बन्धलाई पनि अझ प्रगाढ बनाएको विद्यार्थी प्रमन ढकालको बुझाइ रह्यो । उहाँका अनुसार कक्षाकोठामा सीमित सम्बन्धभन्दा बाहिर निस्किएर सबैसँग घुलमिल हुने, एकअर्कालाई बुझ्ने अवसर यो यात्राले प्रदान ग¥यो ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्ट स्कुलले शैक्षिक भ्रमणलाई मनोरञ्जनमा मात्र सीमित नराखी सिकाइसँग जोड्ने प्रयास गर्दै आएको बताउनुभयो ।

उहाँले लेटाङ नगरपालिकाले देखाएको आत्मीयता र सम्मानले आफूहरू अत्यन्त उत्साहित बनेको समेत बताउनुभयो । राजारानी क्षेत्रको प्रचारप्रसार, व्यवस्थित पूर्वाधार र निर्माणाधीन सडक समयमै सम्पन्न हुन सके यस क्षेत्रले पर्यटनमा ठूलो फड्को मार्ने उहाँको विश्वास छ ।

अन्तरधार्मिक पार्कको चर्चा गर्दै उहाँले भन्नुभयो, “नेपाल विविधताको देश हो । सबै धर्म र संस्कृतिलाई सम्मान गर्दै एकताको सन्देश दिने यस्तो पार्क वास्तवमै दूरदृष्टिको उदाहरण हो । नयाँ पुस्ताले यस्ता स्थानबाट धेरै सिक्न सक्छ ।”

नगरप्रमुख भूपेन्द्र लावतीले राजारानी क्षेत्र साइबेरियाबाट आउने चराको विश्रामस्थल भएको तथा मयुर, अजिङ्गिर, सुनाखरी तथा दुर्लभ वनस्पतिका कारण विभिन्न देशबाट अनुसन्धान टोली आउने गरेको बताउनुभयो । उहाँका अनुसार जैविक विविधता, वनस्पति र वातावरणीय अध्ययनका लागि राजारानी अन्तरराष्ट्रिय महत्वको गन्तव्य बन्दै गएको छ ।

दिगो शान्ति र धार्मिक सद्भाव कायम गर्ने उद्देश्यले अन्तरधार्मिक पार्कमा सबै धर्मका गुरुहरूको सहभागितामा नियमित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिइयो । हिन्दू, बौद्ध, इसाई, इस्लाम र किराँत धर्मका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याएर शान्ति, सहिष्णुता र सहअस्तित्वको सन्देश फैलाउने प्रयास नेपालकै लागि नौलो अभ्यास हुनेछ ।

उपप्रमुख कृष्णकुमारी निरौलाले लेटाङ केवल प्राकृतिक सुन्दरताको भूमि मात्र नभई सुन्तला, कफी र चिया उत्पादनका लागि पनि परिचित रहेको बताउनुभयो । समला डाँडा, झर्ना, राजारानी ताल र चुरे क्षेत्रले लेटाङलाई पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य बनाएको उहाँको भनाइ छ ।

राजारानीको हाइकिङले विद्यार्थीलाई दिएका एउटा महत्त्वपूर्ण सन्देश भनेको सिकाइकोे केवल कक्षाकोठाको चार पर्खालभित्र सीमित हुँदैन । प्रकृतिको काखमा पुगेर इतिहास सुन्न सकिन्छ, जैविक विविधता बुझ्न सकिन्छ, सामाजिक सद्भावको महत्व महसुस गर्न सकिन्छ र स्थानीय समुदायसँग जोडिँदा वास्तविक शिक्षाको अनुभूति गर्न सकिन्छ ।

एभरेष्ट स्कुलको त्यो हाइकिङले गुणस्तरीय शिक्षाको विकास र विस्तारका लागि सही योजना छनौट, स्थानीय समुदायको सहकार्य र सिकाइमुखी दृष्टिकोण भए एउटा साधारण भ्रमण पनि जीवनभर सम्झिने अनुभव बन्न सक्छ भन्न्ने उदाहरण प्रस्तुत गरेको छ ।

त्यस हाइकिङले विद्यार्थीलाई प्रकृतिसँग संवाद गर्ने, इतिहाससँग परिचित हुने, विविधतामा एकताको सन्देश बुझ्ने र जीवनका नयाँ पाठ सिक्ने अविस्मरणीय यात्राकारुपमा युगौँसम्म स्मरण गराउनेछ ।

त्यस भ्रमणले राजारानी क्षेत्रलाई केवल एउटा पर्यटकीय गन्तव्य मात्र नभइ, ज्ञान, अनुभव र प्रेरणाको खुला पाठशालाका परिचय गराएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area