देश/प्रदेश
लोकसंस्कृतिको संरक्षणमा सक्रिय बैतडीका ‘रामप्रसाद’

महेन्द्रनगर, साउन १७-
बैतडीका गायक रामचन्द्र अवस्थीलाई साङ्गीतिक क्षेत्रमा लागेको २७ वर्ष भयो ।
सुदूर र कर्णालीको लोक संस्कृतिको जगेर्नामा अग्रणी भूमिका निभाउँदै आउनुभएका गायक अवस्थी पछिल्लो समय राजधानीमा सुदूरपश्चिमको कला, संस्कृति र देउडालाई पछिल्लो पुस्तासित परिचित बनाउन सक्रिय हुनुहुन्छ ।
गीत रचना, गायन र सङ्गीत गरी तीनवटै विधामा आफूलाई पोख्त बनाएका अवस्थीले गीतसङ्गीतको नशालाई २०५७ सालदेखि निरन्तरता दिँदै आउनुभएको हो । सांस्कृतिक समाज नेपालको अध्यक्ष भएर नेतृत्वदायी भूमिकामा रहँदा उहाँले सुदूर र कर्णालीको लोकसंस्कृतिसँगै स्रष्टा सम्मान निकै लोभलाग्दो रुपमा अघि बढाएका अवस्थीले राष्ट्रिय युवा परिषद् कला साहित्य सञ्जालको अध्यक्षसमेत भएर काम गरिसक्नुभएको छ ।
“सुदूर र कर्णालीको ऐतिहासिक लोकसंस्कृतिलाई सर्वत्र परिचित गराउँदै यसको गरिमा अझ बढाउन र जीवन्त राख्नुपर्छ भनेर अभियानकै रुपमा अघि बढाएर अग्रसर छु,” अवस्थीले भन्नुभयो, “मेलामहोत्सवका क्रममा पश्चिमदेखि पूर्वसम्मका लोक संस्कृतिसम्बन्धी अध्ययन गर्ने अवसर पनि पाएँ ।”
विसं २०५७ मा पहिलो एल्बम ‘रानी चणि’ बजारमा ल्याएको अवस्थीले २०५९ सालमा ‘मेरी इजा’, २०६१ सालमा ‘रातो सलाम’ दर्शक स्रोतामाझ ल्याउनुभयो ।
उहाँले २०६८ मा ‘सुदूरपश्चिम कलेजीमा’ २०७० मा ‘सुनै फल्ने देश’ २०७२ मा ‘सुदूरकी मूल्याई’ २०७२ मा ‘छमछम पाउजु’ २०७३ मा ‘ढल्क्यो लाली जोवन’ २०७४ मा सीमासम्बन्धी राष्ट्रिय गीत ‘अत्ति भयो’ २०७५ मा ‘कालो बादल’ ‘जोई नभई नहुन्या’लगायत हालसम्म दर्जनौँ गीत, सङ्गीत र स्वर दिएर बजारमा पस्किसकेका छन् ।
विसं २०४२ मा बैतडीको विकट गाउँ काडासैनीमा मध्यम परिवारमा जन्मिएका अवस्थी बाल्यकालदेखि निकै लोक तथा डेउडा गीतसङ्गीतमा रुचि राख्ने गर्दर्थे । “त्यो बेला ब्राह्मणको छोरो भएर पनि गीत गाउँछन् भन्ने सङ्कुचित दायरा नाघेर लोक संस्कृतिका क्षेत्रमा होमिएको हुँ,” उहाँले भन्नुभयो, “पछिल्लो समय लोकसंस्कृति जगेर्ना र सरकारी तवरबाट प्रवद्र्धनमा सक्रिय निकायमा राजनीति हाबी हुँदा चिन्तित छु ।”
उहाँ २०६२/६३ को जनआन्दोलनमा जनवादी गीतले आन्दोलनमा ऊर्जा थप्ने काम गरेको स्मरण गराउनुभयो । “विद्यालयस्तरमै विभिन्न्न प्रतियोगितामा सबै प्रतिस्पर्धी सबैलाई उछिन्दै पुरस्कृत हुन्थे । अध्ययन र गीतसङ्गीतलाई सँगसँगै अगाडि बढाए पनि,” अवस्थीले भन्नुभयो, “सङ्गीतको नसाले अहिले पनि यही क्षेत्रको विस्तारमा तल्लीन छु ।”
सुदूरपश्चिम प्रदेश कलासंस्कृतिकमा अब्बल मानिएको बताउँदै अवस्थीले यहाँको कलासंस्कृति र प्राकृतिक सम्पदामा धनी भए सामाजिक–आर्थिक विकासका दृष्टिले पछाडि रहेको बताउनुहुन्छ ।
सुदूरपश्चिमका देउडा गायक लालबहादुर धामी ९अछामी बड्डो० गायक अवस्थलाई काली कर्णालीलाई समेटेर मौलिक देउडालाई संरक्षणमा जुटेका स्रष्टाका रुपमा लिनुपर्ने बताउनुहुन्छ ।
“भाषासंस्कृतिको संरक्षणका लागि उहाँ अहोरात्र खटिरहनु भएको छ,” धामीले भन्नुभयो, “उहाँको मेहनतले हाम्रो कला र संस्कृतिको सरंक्षण तथा भावी पुस्ताका लागि ज्ञानको पाठशाला हुनेछ ।” रासस



























