देश/प्रदेश
गोलबजारमा आज कफ्र्यु खुकुलो

सिरहा ,साउन १७-
जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कफ्र्यु आदेश आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि खुकुलो गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको विश्लेषणपछि आइतबार बिहान १०ः०० बजेदेखि राति ७ः०० बजेसम्म कफ्र्यु खुकुलो पारिएको हो।
प्रशासनले स्थानीय परिस्थितिको थप मूल्यांकनपछि कफ्र्यु थप खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउने सम्बन्धमा पुनः सूचना जारी गरिने जनाएको छ।
कफ्र्यु खुकुलो गरिएको अवधिमा गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधनलाई आवश्यक सहजीकरण गरिने पनि सूचनामा उल्लेख छ।
यस्तै, कफ्र्यु खुकुलो रहेको समयमा पाँच जनाभन्दा बढी व्यक्तिको समूहमा भेला हुन नपाइने भन्दै प्रशासनले सबैलाई उक्त व्यवस्था पालना गर्न आग्रह गरेको छ।




























