चितवन विशेष
सानो घरका नानीहरूसँग जन्मदिनको खुसी साटिन् नियान्साले

चितवन, साउन ८-
भरतपुर महानगरपालिका–११ निवासी निश्चल श्रेष्ठ तथा संगीता थापा श्रेष्ठकी सुपुत्री नियान्सा श्रेष्ठको जन्मदिन सामाजिक सेवामूलक कार्य गर्दै मनाइएको छ। नियान्साको जन्मदिनको अवसरमा भरतपुर महानगरपालिका–५, गुम्बा टोलस्थित सानो घर मा आश्रित बालबालिकालाई एक छाक मिठो भोजन खुवाएर जन्मदिन मनाइएको हो। साथै, बालबालिकाका लागि केही समय पुग्ने खाजा तथा आवश्यक खाद्य सामग्री पनि सहयोगस्वरूप हस्तान्तरण गरिएको थियो छ । परिवारले जन्मदिनलाई केवल व्यक्तिगत खुसीमा सीमित नराखी संस्थाको संरक्षणमा रहेका नानीहरूसँग खुसी साट्दै मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको जनाएको छ।
कार्यक्रममा सानो घरमा आश्रित नानीहरूले मिठो भोजनको स्वाद लिँदै जन्मदिनको खुसी साझा गरेका थिए। परिवारका सदस्यहरूले समाजमा रहेका असहाय तथा संरक्षणको आवश्यकता भएका बालबालिकासँग आफ्नो विशेष दिन मनाउन पाउँदा आत्मसन्तुष्टि मिलेको बताए।
यस प्रकारका सामाजिक कार्यले जन्मदिनलाई थप अर्थपूर्ण बनाउनुका साथै समाजमा सहयोग, सद्भाव र मानवीय सेवाको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ। उपस्थित सबैले नियान्सा श्रेष्ठको सुस्वास्थ्य, उज्ज्वल भविष्य तथा दीर्घायुको शुभकामना व्यक्त गरेका थिए।
२०६७ साल जेठदेखि असहाय, अभिभावकविहीन तथा विपन्न बालबालिकाहरूको शिक्षा–दीक्षा, पालनपोषण, स्वास्थ्य, आवास तथा आवश्यक जीवनोपयोगी सीपमूलक तालिम प्रदान गर्दै आइरहेको यस बालगृहले धेरै बालबालिकाको जीवनमा आशा, आत्मविश्वास र उज्ज्वल भविष्यको आधार निर्माण गरेको छ। सीमित स्रोत–साधनका बाबजुद निरन्तर सेवाभावका साथ सञ्चालन भइरहेको यस संस्थालाई थप सहयोग, साथ र सद्भावको आवश्यकता रहेको छ।

























