चितवन विशेष

पासपोर्ट थन्काएर चितवनका चार युवाले उभ्याएको “मेयो टेकअवे’’

Banner

निशा श्रेष्ठ,

भरतपुर, साउन ४

एउटा हातमा कतार फर्किने पासपोर्ट, अर्को हातमा स्वदेशमै केही नयाँ गर्ने अनिश्चित सपना । २६ वर्षीय बिबस तामाङका लागि त्यो क्षण जीवनकै सबैभन्दा कठिन परीक्षा थियो । कतारमा चार वर्ष फास्ट फुडको काममा पसिना बगाएका बिबसका लागि त्यो दिन कुनै सामान्य दिन थिएन । फेरि विदेश उड्ने कि नेपालमै आफ्नै केही सुरु गर्ने? “आइ वाज क्यारिङ द पासपोर्ट अन माइ ह्यान्ड, अनि आइ वाज क्यारिङ द डिसिजन अफ मेयो अर्को हातमा,’’ उनी सम्झन्छन् । र अन्ततः उनले पासपोर्टलाई एकातिर थन्काए, अनि नेपाल र आफ्नो सपनालाई अंगालो हाले । त्यही निर्णयबाट जन्मियो — मेयो टेकअवे । भरतपुर महानगरपालिका –१० सिनर्जी रोडमा उभिएको एउटा सानो तर उम्दा सपना बोकेको बर्गर–स्यान्डविच ब्रान्ड ।

मेयो टेकअवे कुनै ठूलो बिजनेस प्लानबाट होइन, साथीहरूबीचको एउटा सामान्य टेबल टकबाट सुरु भएको थियो । “डिजिटल घुम्ती’’ का संस्थापक अभिषेक पोखरेलसँग बिबसको भेट कन्टेन्ट क्रिएसनकै क्रममा भएको थियो । त्यही चिनजान बिस्तारै एउटा गफगाफमा फेरियो, र त्यही गफगाफबाट अंकुरित भयो मेयो । पछि यसमा थपिए बिबसका होमटाउनकै दुई साथी — सुजन र प्रशान्त योन्जन । यसरी चार जना युवा मिलेर डेढ वर्षअघि मेयोको जग बसाले — बिबस तामाङ सेफ र सह–संस्थापकको भूमिकामा बसे, अभिषेक पोखरेलले ब्रान्डिङको जिम्मा लिए, सुजनले मार्केटिङ हेरे, र प्रशान्त योन्जनले कन्टेन्ट तथा एडिटिङको काम सम्हाले । आज यही सानो टिमले भरतपुरमा एउटा भरपर्दो टेकअवे ब्रान्ड खडा गरेको छ ।

नाम सुन्दा जति सामान्य लाग्छ, त्यसभित्र त्यत्तिकै रमाइलो कथा लुकेको छ । “मेयो“ वास्तवमा “मेयोनिज“ शब्दकै छोटो रूप हो, किनभने यहाँका हरेक फ्लेवरफुल सस उनीहरूकै हातले घरमै तयार पारिन्छ, र त्यो ससको जगमा नै मेयोनिज हुन्छ । यही ससकै विशेषताले नै मेयोलाई बजारका अरू बर्गर–स्यान्डविच जोइन्टहरूभन्दा फरक बनाउँछ । “विदेशी स्टाइललाई हामी नेपालपन खोजिरहेका छौं,’’ बिबस भन्छन् ।

तर यो यात्रा सुरुदेखि नै सहज थिएन । हरेक नयाँ सुरुवातसँगै आउने एउटा साथी हुन्छ — शंका र डर । बिबसको परिवार पनि यसबाट अछुतो थिएन। “मम्मीले भन्नुहुन्थ्यो, किन नेपालमै यस्तो गर्नु पर्यो छोरा? बाहिर जा, धेरै कमाइन्छ, फलानाको छोराले यस्तो गर्यो, उस्तो गर्यो,’’ बिबस सम्झन्छन् । मध्यमवर्गीय परिवारबाट आएका बिबसका लागि यो दबाब सजिलो थिएन, कहिलेकाहीँ आफूलाई निकै एक्लो र दबिएको महसुस पनि भयो । तर आफ्नो सीपमाथिको भरोसा र साथीहरूको हौसलाले उनलाई अडिग बनायो । बिस्तारै परिवारलाई मनाए, र अन्ततः मेयोको ढोका खुल्यो ।

पुँजी जुटाउने कुरामा पनि नेपालको यथार्थताले उनीहरूलाई राम्रैसँग जोखेको थियो । सुरुमा ७ देखि १० लाख रुपैयाँमा नै पसल खोलिन्छ भन्ने आँकलन गरिएको थियो, तर वास्तविकतामा यो खर्च २५ देखि ३० लाख रुपैयाँसम्म पुग्यो । “नेपालमा जहिल्यै अनुमान गरेभन्दा बढी नै खर्च लाग्छ, किनभने यहाँ सबै थोक महँगिँदो छ,’’ बिबस बताउँछन् । तर यसले उनीहरूलाई रोक्न सकेन ।

मेयो टिमका अनुसार उनीहरूको सबैभन्दा ठूलो चुनौती नै हो — चितवनको बजार अझै बर्गर–स्यान्डविच कल्चरमा काठमाडौं वा पोखराको तुलनामा वर्षौं पछाडि छ । “यहाँ यो कन्सेप्ट अझै नयाँ हो, त्यही भएर नै हामी चितवनमै आफ्नो ब्रान्ड जगाउन चाहन्छौं,’’ बिबस भन्छन् । व्यवसायमा उतारचढाव नआउने त कुरै भएन, कहिलेकाहीँ थाकेको महसुस पनि भयो, “के भइरहेको छ’’ भन्ने अन्योल पनि आयो । तर उनी अझै भन्छन्, “मैले कहिल्यै हार मान्ने सोचिनँ ।’’

मेयोका एक सञ्चालक अविसेक पोखरेलका अनुसार मेयोको मूल अवधारणा भनेकै टेकअवे हो । ब्यस्त जीवनशैली भएका कर्पोरेट कर्मचारी र विद्यार्थीहरूलाई लक्षित गरी उनीहरूले फोन कल गरेर अर्डर गरेको बर्गर पाँचदेखि दस मिनेटमै तयार पारिदिन्छन्, जुन ग्राहकले सजिलै स्टोरबाटै लगेर खान सक्छन् ।

सीमित ठाउँमै भए पनि छिटो र स्वादिलो सेवा नै मेयोको पहिचान हो, र हाल टेकअवेमा दस प्रतिशत छुट पनि दिइँदै आएको सञ्चालक पोखरेल बताउँछन् । आज मेयो यो आउटलेटले नै दिनको १५ देखि २० हजार रुपैयाँसम्मको बिक्री गर्छ, जुन उत्साहजनक आँकडा हो । “अचेल नचिनेका मान्छेले समेत मलाई फोन गरेर भन्छन् — तपाईंहरूको राम्रो भइराछ, भिडियोमा देखेँ । गाउँ गयो भने पनि सबैले तारिफ गर्छन्,“ बिबस मुस्कुराउँदै भन्छन् ।

हालसालै चितवनमा खाद्य स्वच्छता सम्बन्धी विवाद चर्किएको छ, केही पसललाई ठूलो जरिवाना समेत लागेको छ । यस विषयमा बिबस निकै स्पष्ट छन्ः “विदेशमा फुड इन्स्पेक्सन डिपार्टमेन्ट कति कडा हुन्छ भन्ने मैले आफैं भोगेको छु । हामी सधैं हाइजिन र फ्रेस खानाको मापदण्डमा पूर्ण रूपमा सजग छौं ।’’ उनीहरूका सबै सस घरमै तयार पारिन्छन्, जसले गुणस्तर र स्वादमा नियन्त्रण कायम राख्न मद्दत गर्ने बिबस दाबी गर्छन् ।

डिजिटल युगमा ब्रान्डिङ र मार्केटिङको महत्व पनि टिमलाई राम्ररी थाहा छ । “तपाईंसँग जति राम्रो प्रोडक्ट भए पनि, त्यो मान्छेको आँखामा नपरे बेकार हो,’’ बिबस भन्छन् । यही सोचका साथ उनीहरूले सामाजिक सञ्जालमार्फत आफ्नो कथा र प्रोडक्ट दुवैलाई ग्राहकसम्म पु¥याइरहेका छन्, र त्यही कारण आज मेयो चितवनका धेरैका लागि चिनजानको नाम बनिसकेको छ ।

मेयो हाल प्राइभेट लिमिटेड कम्पनीको रूपमा दर्ता भइसकेको छ, र टिमको सुरुदेखिकै लक्ष्य हो — सिंगो नेपालभरि आउटलेट विस्तार गर्ने। “अबको पाँच वर्षमा हामी पोखरा वा काठमाडौंमा कम्तीमा दुई थप आउटलेट खोल्ने सोचमा छौं,’’ बिबस भन्छन् । धरान, पोखरा, काठमाडौंबाट ग्राहकहरूले नै “यहाँ पनि खोल्नुप¥यो“ भनेर आग्रह गरिरहेका बेला, यो सपना अब त्यति टाढाको लाग्दैन ।

बिबस भन्छन् — “गाह्रो बाटो रोजेर पछि जीवन सजिलो बनाउने कि, सजिलो बाटो रोजेर पछि गाह्रो बनाउने भन्ने कुरा मात्रै हो।’’ उनका अनुसार नेपालमा केही गर्नु सजिलो छैन, प्रक्रिया ढिलो हुन्छ, तर धैर्य र आत्मविश्वास भएमा सफलता निश्चित छ । “एक न एक दिन सफल भइन्छ भन्ने थाहा छ, केवल समय लाग्छ भन्ने कुरामा धैर्य गर्न सक्नुपर्छ,’’ उनी भन्छन् । सरकारसँग पनि उनको एउटै अपेक्षा छ — विदेशमा भएका नेपालीलाई फर्काउने कुरा गर्नुभन्दा, नेपालमै भएका, नेपालमै केही गर्न खोज्ने युवाहरूलाई नरोकिकन साथ दिने वातावरण बनाइदिन ु। “यहाँको मान्छेलाई गुमाउनु ठूलो नोक्सान हो,’’ बिबस भन्छन्।

बिबस तामाङ अहिले जम्मा २६ वर्षका छन् । तर उनी र उनका साथी अभिषेक, सुजन र प्रशान्तले मिलेर देखेको सपना उनीहरूको उमेरभन्दा निकै ठूलो छ । एउटा टेबल टकबाट सुरु भएको मेयो आज चितवनको चिनारी बन्दै गएको छ, र यो यात्रा अझै सुरुवाती चरणमा मात्रै छ भन्ने उनीहरू आफैं स्वीकार्छन् । “हामी अझै सिक्दैछौं, बुझ्दैछौं,“ बिबस भन्छन्, “तर एउटा कुरा पक्का छ — हामी कहिल्यै हार मान्दैनौं।“

चितवनको सिनर्जी रोडमा रहेको एउटा सानो टेकअवे काउन्टरबाट सुरु भएको मेयो “नेपालमै केही सम्भव छ’’ भन्ने विश्वासकै जीवन्त उदाहरण हो — जुन हरेक युवा उद्यमीका लागि उत्तिकै उपयोगी र उत्साहवर्धक हुन सक्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>