Breaking News
नारायणगढ–मुग्लिन सडक खण्डमा राति १० बजेदेखि सवारी संचालनमा रोक

चितवन, साउन ३–
जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडक खण्डमा रातिको समयमा सवारी संचालनमा रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्याल हस्ताक्षरित विज्ञप्तीमा आज राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन–काठमाडौं सडक खण्डमा चल्ने सवारी साधन संचालनमा रोक लगाइएको हो । धादिङलगायत जिल्लाहरुमा पानी पर्न सुरु भएको र रातिको समय पानी पर्ने क्रमम अझै बढ्ने पूर्वानुमान रहेकाले संभावित जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी संचालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।
रातिको समयमा यस सडक खण्डमा पहिरो खस्ने संभावना बढी रहेको छ । विगतमा पनि यस सडक खण्डमा भारी वर्षाहुँदा निरन्तर पहिरो खस्दै आइरहेको छ । यस सडक खण्डको तुईन खोला, काली खोला, टोपेखोलालगायतका स्थानहरुमा पहिरो खस्ने संभावना बढी रहेकाले पूर्व सावधानी अपनाईएको छ । राति चल्ने सवारी साधनहरुलाई भरतपुरको केन्द्रीय बस टर्मिनल, आँपटारी, पुलचोक, मुग्लिनलगायतका ठाउँहरुमा रोक्न भनिएको छ ।

























