देश/प्रदेश

कोटेश्वर–बालकुमारी सडकमा हरायो फुटपाथ, पैदलयात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य

Banner

काठमाडौँ, असार २५ –

संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यन्त व्यस्त कोटेश्वर–बालकुमारी सडकखण्डमा पैदलयात्रीका लागि सुरक्षित फुटपाथको अभाव देखिएको छ। फुटपाथ निर्माण गरिएका केही स्थानबाहेक अधिकांश क्षेत्रमा पैदलयात्रु जोखिम मोलेर सडकको किनार हुँदै हिँड्न बाध्य भएका छन्।

यस सडकखण्डमा नालीमाथि केही दूरीसम्म नियमित फुटपाथ निर्माण गरिएको भए पनि त्यसपछि अचानक फुटपाथ अन्त्य हुने र त्यसको सट्टा फलामका प्लेट राखिएको अवस्था छ। ती फलामका प्लेटहरू धेरै स्थानमा भासिएका छन् भने कतिपय ठाउँमा फलाम नै निस्किएको छ। जोखिम कम गर्न केही स्थानमा अस्थायी रूपमा बाँस टेकेर काम चलाइएको देखिन्छ।

स्थानीयका अनुसार भासिएको फलामका कारण कतिपय पैदलयात्रीको खुट्टा समेत फसेको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा रातिको समयमा हिँड्नेहरूका लागि यो अवस्था अझ जोखिमपूर्ण बनेको छ।

फलामका प्लेट कुनै पनि बेला भासिन सक्ने डरका कारण धेरै पैदलयात्री फुटपाथ छाडेर सडकको किनार हुँदै हिँडिरहेका देखिन्छन्। यसले तीव्र गतिमा गुड्ने सवारीसाधनसँग दुर्घटनाको जोखिम समेत बढाएको छ।

संघीय राजधानीकै व्यस्त सडकमा पैदलयात्रीका लागि सुरक्षित र निरन्तर फुटपाथको व्यवस्था नहुँदा दैनिक हजारौं सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>