Breaking News
चितवनमा गाडी चलाउँदै गर्दा स्टेरिङमै ढलेका चन्द्रबहादुरले आफ्नो प्राण गुमाएर १४ यात्रुलाई नयाँ जीवन दिए

चितवन,असार १८-
भरतपुरबाट वीरगञ्जतर्फ यात्रु बोकेर गन्तव्यतर्फ अघि बढिरहेको एउटा हाइस शुक्रबार अपराह्न चितवनको रत्ननगर–९ स्थित कृष्ण मन्दिर प्रहरी बिट नजिक पुग्दा चालकको स्वास्थ्यमा अचानक समस्या देखियो। सवारी चलाइरहेका चालकले अवस्था असहज महसुस गरेपछि हाइसलाई सडक किनारमा सुरक्षित रूपमा रोके। तर त्यसलगत्तै उनी एक्कासी बेहोस भए।
हाइस चालक बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२ निवासी करिब ५५ वर्षीय चन्द्रबहादुर बुढाथोकीलाई तत्काल कृष्ण मन्दिर प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले उद्धार गरी एम्बुलेन्समार्फत बकुलहर अस्पताल, टाँडी पुर्यायो। चिकित्सकले स्वास्थ्य परीक्षणपछि अपराह्न ४ः५० बजे उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार बुढाथोकीले समयमै सवारी सडक किनारमा रोकेकाले सम्भावित दुर्घटना टरेको देखिन्छ। उनी बेहोस हुँदा हाइसमा १० जना यात्रु सवार थिए। चालकले सवारी नियन्त्रणबाहिर जान नदिई सुरक्षित रूपमा रोकेपछि यात्रुहरू भने सकुशल रहेका थिए। घटनापछि प्रहरीले यात्रुहरूको व्यवस्थापन गर्दै उनीहरूलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाएको जनाएको छ।
प्रारम्भिक रूपमा चालकको अचानक स्वास्थ्य अवस्था बिग्रिएर बेहोस भएको देखिए पनि मृत्युको यथार्थ कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। चालकको एक्कासी स्वास्थ्यमा आएको समस्या आफैंमा दुःखद भए पनि उनले अन्तिम क्षणसम्म सवारीलाई सुरक्षित रूपमा नियन्त्रणमा राखेकाले ठूलो मानवीय क्षति हुनबाट भने जोगिएको छ।



























