Breaking News
रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

चितवन, असार १२-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनका क्रममा खुला उपसभापतितर्फ डा स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी परेको छ । अन्य पदका लागि भने आवश्यकताभन्दा बढी उम्मेदवारी परेपछि सहमतिको प्रयास सफल नभएमा निर्वाचन हुने भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको अन्तिम नामावली विवरणअनुसार एक महिला उपसभापति पदमा सोविता गौतम र डा तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी, एक महामन्त्री पदका लागि १० जनाको उम्मेदवारी परेको छ । रास्वपा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीसहित नेताहरू प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, जगदीश खरेल (ललितपुर), रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्यको उम्मेदवारी परेको हो ।
दुई सहमहामन्त्री पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा रमेश प्रसार्इं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै, एक महिला सहमहामन्त्री पदमा जु्ली यादव, जमुना शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मासहित पाँच जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
दोस्रो चरणको निर्वाचनअन्तर्गत खुलातर्फ पार्टीको उपसभापतिबाहेक अन्य पदमा आवश्यकताभन्दा बढीको उम्मेदवारी परेकाले सहमतिको प्रयास भइरहेको सो पार्टीले जनाएको छ ।
यसअघि पहिलो चरणमा निर्वाचित ९९ केन्द्रीय सदस्यले मात्र दोस्रो चरणको निर्वाचन प्रक्रियामा भाग लिन पाउने व्यवस्था सो पार्टीमा रहेको छ ।
यसैबीच महामन्त्री पदमा उम्मेदवारी दिएका पार्टीका निवर्तमान महामन्त्री बुर्लाकोटी र नवनिर्वाचित केन्द्रीय सदस्य जगदीश खरेल (ललितपुर)ले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ ।
पार्टी निर्वाचन आयोगकका प्रमुख भुवन केसीले पदाधिकारी चयनका क्रममा सहमतिको प्रयास भइरहेको भन्ने जानकारी प्राप्त भएको तर आयोगका तर्फबाट भने आवश्यक तयारी भइरहेको बताउनुभयो । रासस


























