देश/प्रदेश

मधेसको कैलासः लोकआस्था र विश्वासको प्रतीक

Banner

महोत्तरी, असार ४ –

चुरे पहाडी शृङ्खलाको थुम्कोमा अवस्थित टुटेश्वरनाथ महादेव मन्दिर मधेस मात्र नभएर छिमेकी भारतको बिहार राज्यका हिन्दुको पनि आस्था र विश्वासको प्रतीक रहँदै आएको छ । थुम्कोको फेदीमा नदी र खोल्सीहरुमा कलकल बग्ने कञ्चन पानी । अनि चुरे काछको पहाडी शृङ्खलामा सिँढी उक्लिदै पुग्नुपर्ने शिवालय । यो परिवेशले नै मान्छेको मन लोभिने र रम्ने ठाउँ बनेको छ ।

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–५ मा अहिलेको टुटेश्वर बस्तीको सिरानमा यो मन्दिर छ । पूर्व–पश्चिम राजमार्गको टुटेश्वरचोकबाट आठ किलोमिटर घना वन क्षेत्र छिचोलेर शिवालय पुगिन्छ । बर्दिवास मुख्यचोकबाट १६ किलोमिटर दुरी अवस्थित यो ठाउँ धार्मिक पर्यटकीय स्थलका रुपमा चिनिन्छ । माण्डवीगङ्गा नदी किनारमा अवस्थित यो मन्दिर अग्लाअग्ला घना साल वृक्षले घेरिएको पहाडी थुम्कोमा छ । फेदीबाट सिँढी चढ्दै उक्लनुपर्ने हुँदा यो मन्दिरलाई ‘मधेसको कैलास’ पनि भन्ने गरिन्छ । प्रत्येक वर्ष साउन महिनाभरि लाखौँ श्रद्धालु पुग्ने यो शिवालयलाई कतिपयले ‘नेपालको बाबाधाम’ पनि भन्ने गर्दछन् ।

भारतको झारखण्ड राज्यको देवघरस्थित वेद्यनाथ धामलाई बोलीचालीमा बाबाधाम भनिन्छ । त्यहाँ पुग्न श्रद्धालु भक्तजन सुल्तानगञ्जबाट गङ्गाको पवित्र जल लिएर तीन–चार दिन लाग्दछ । सुल्तानगञ्जबाट देवघरसम्म देखिने पीतवस्त्रधारी श्रद्धालुको लर्कोकै झलक दिने गरी टुटेश्वरचोकबाट शिवालयसम्मको आठ किलोमिटर दुरीमा ‘बोलबम’ पुकार्दै दर्शनार्थी देखिन्छन् । यही देखिने दृश्यले टुटेश्वरनाथ महादेवस्थानलाई नेपालको ‘बाबाधाम’ भनिएको बर्दिबास–५ चेरुका ८० वर्षीय राजन पौडेल बताउनुहुन्छ ।

शिवालय स्थापनाको प्राचीन जनश्रुतिले पनि यो मन्दिरको महत्व बढाएको छ । अघि द्वापर युगमा वनवासका बेला अर्जुनलाई भगवान् शिवले यसै ठाउँमा किराँत रुपमा दर्शन दिएर अमोघ मानिने पाशुपतास्त्र दिनुभएको यहाँका पाकाजन बताउँछन् । “अर्जुनलाई शिवजीले दर्शन दिनुभएको यसै ठाउँमा भन्ने विश्वास गरिन्छ” नेपाल सरकारका पूर्व सहसचिव स्थानीय ७५ वर्षीय वाणिकराज काफ्ले भन्नुहुन्छ, “यहीँबाटै शिवजीको आशीर्वाद पाएर पाण्डव एक वर्षको गुप्तवासका लागि विराटनगर गएका हामीले मान्यजनबाट सुन्दै आएका हौंँ ।”

माण्डवीगङ्गा (मडहा), वरुणमती (बेलगाछी) र स्वर्णमती (सोनी) नदीको त्रिवेणी सङ्गम त मन्दिरबाट करिब १८ किलोमिटर दक्षिण छ । शिवालय स्थापनामा महाभारतकालीन जनश्रुति भए पनि यो ठाउँ विदेहराज शिरध्वज जनककै समयदेखि धार्मिकस्थलका रुपमा रहेको पछिल्ला ४० वर्षदेखि माण्डवीगङ्गा , वरुणमती र स्वर्णमती नदीको त्रिवेणी सङ्गमबाट जल लिएर घस्रेर दर्शन गर्दै आउनुभएका गौशाला–४ का ७५ वर्षीय अवकाश प्राप्त शिक्षक वासुदेव महतो बताउनुहुन्छ ।

“यो प्राचीन विदेह (मिथिला) भूमि हो, राजा जनकका भाइ कुशध्वजकी छोरी माण्डवी आफ्ना साथीहरुका साथ यहाँ बिहार गर्न आउँथे” महतो भन्नुहुन्छ, “माण्डवीले नुहाउने गरेको हुँदा नै नदीको नाम माण्डवीगङ्गा राखिएको रामायणकालीन कथाहरुमा वर्णन पाइन्छ ।” माण्डवीका सखीहरु स्वर्णमती र वरुणवतीकै नाउँमा पनि पछि नदीका नाउँ बनेका उहाँको कथन छ । “यी सबै हामीले आफ्नै बाबु÷ बाजेबाट सुनेका कथा हुन्” उहाँले भन्नुभयो । टुटेश्वर, पञ्चधुरा माइस्थान, राइमण्डलधाम नजिकका पुरातात्विक महत्वका धार्मिकस्थल हुन् । यी ठाउँ राजा जनक र उहाँका विद्वत्सभाका ऋषिमुनिको तपोभूमिको परिचयमा स्थापित रहेको महतोको भनाइ छ ।

विसं २००२ मा डिठ्ठा गौरीनारायण गिरीले वन फडानी गरी बस्ती बसाउने क्रममा यहाँ अति प्राचीन शिवलिङ्ग, पत्थर कुदिएर बनेको बसाहासहित पुरातात्विक महत्वका सामग्री फेला परेका थिए । त्यसयता विभिन्न समयमा श्रद्धालु भक्तजनको सरसहयोगबाट मन्दिर निर्माण भएको छ । शिवलिङ्ग, बसाहा र अन्य पुरातात्विक महत्वका सामग्रीको अध्ययनबाट यसलाई संस्कृति अध्येताहरुले महाभारतकालीन भनेका छन् । “यहाँको शिवलिङ्ग, बसाहा र अन्य प्राप्त सामग्री महाभारतकालीन नै भएका अहिलेसम्मको अध्ययनले देखाएको छ” जलेश्वर–५ पतैलीका बासिन्दा संस्कृतिविद् तथा मिथिला माहात्म्यका नेपाली अनुवादक ध्रुव राय भन्नुहुन्छ ।

यस ठाउँलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न संस्थागत प्रयत्न थालिएको बर्दिवास नगर कार्यपालिकाको कार्यालयको संस्कृति तथा पर्यटन प्रवर्धन समितिका संयोजक हिरालाल गौतमको भनाइ छ । “यसको धार्मिक महत्व अझ उजागर गर्न पछिल्ला १० वर्षयता प्रयत्न थालिएका छन्, यो ठाउँ केन्द्र, प्रदेश र स्थानीयतहको चासोमा परेको छ” गौतम भन्नुहुन्छ, “गत आर्थिक वर्ष २०८१/८२ देखि मधेस प्रदेश सरकारले निरन्तर बजेटमै सम्बोधन गरेर यहाँको कामलाई चासो दिएको छ ।” यसैगरी बर्दिबास नगरपालिका र केन्द्र सरकारले पनि यस ठाउँको पुरातात्विक महत्वको संरक्षण र सम्बद्र्धनका लागि अभिरुचिपूर्वक चासो लिएको उहाँको भनाइ छ ।

यसैबीच, मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेशको कैलास भनिने यस ठाउँको विकासका लागि विस्तृत परियोजना प्रस्ताव नै बनाएर तीनै तहका सरकारको समन्वयमा योजनाबद्ध काम गरिनपर्ने बताउनुभएको छ । “यहाँ स्वीकृत ढाँचामा एकद्वार प्रणालीबाट काम गरिन पर्छ, स्थानीय तहले लिने पहलकदमीमा प्रदेश सरकारको साथ सहयोग रहनेछ” मुख्यमन्त्री यादव भन्नुहुन्छ, “यो मधेसको मात्र नभएर मुलुककै धार्मिक आस्थाको केन्द्र हो, यसका लागि केन्द्र सरकारसँग आवश्यक समन्वय प्रदेश सरकारले गर्नेछ ।”

मधेसको कैलास भनिने टुटेश्वरनाथको संरक्षण, सम्बद्र्धन र विकासका लागि यसलाई ट्रष्टमा लान नगरवासीको सुझाव छ । “यहाँ गरिन पर्ने मुख्य दुई काम छन्” बर्दिबास–५ का पूर्ववडाध्यक्ष दलबहादुर थापा मगर भन्नुहुन्छ, “पहिलो यस ठाउँको समुचित विकासका लागि दीर्घकालीन योजना निर्माण र दोस्रो साउने मेलाको कुशल व्यवस्थापन हो ।” यी सबै कामको केन्द्रमा यसलाई ट्रष्टमा लगिन नगर नेतृत्वले तत्काल पहलकदमी लिन पर्ने उहाँले स्पष्ट पार्नुभयो । थापाजस्तै बर्दिबास–५ स्थित इच्छेश्वर माध्यमिक विद्यालयका शिक्षक युवराज अधिकारी पनि मन्दिरलाई ट्रष्टमा लान पर्ने बताउनुहुन्छ ।

माण्डवीगङ्गा, वरुणमती र स्वर्णमती नदीका माझ अवस्थित यो ठाउँ शिवजीको पुकारा गरिँदा मनोवाञ्छित फल पाइने श्रद्धालुहरुको विश्वास छ । “मैले पछिल्ला ४० वर्षदेखि १८ किलोमिटरको दुरी घस्रदै माण्डवीगङ्गा, वरुणमति र स्वर्णमतिको त्रिवेणीबाट ल्याइएको जल शिवलिङ्गमा चढाउँदै आएको छु, यो दुरी पार गर्न मलाई चार दिन लाग्ने गरेको छ” दण्डीबाबा उपनामले चिनिने रजखोरका वासुदेव महतो भन्नुहुन्छ, “यहाँ शिवजीको पुकार गरेर जसरी दुःख बिसाएँ, उहाँले सबै सुन्नुभएको छ, म सन्तुष्ट छु ।”

पूर्व–पश्चिम राजमार्ग बन्ने बेलामा ठेकदारहरुले माण्डवीगङ्गा, वरुणमति र स्वर्णमतिको नाउँ बिगारेर मडहा, बेलगाछी र सोनी बनाएका उहाँको गुनासो छ । यी नदीहरुको नाउँ विगतको पौराणिक पृष्ठभूमिकै बनाउन नगर नेतृत्वसँग महतोको अनुरोध छ । “यो नाउँ मिलाउने त बर्दिबास नगर कार्य समितिकै निर्णयबाटै भइहाल्छ” महतो भन्नुहुन्छ, “यस ठाउँको पौराणिक महत्व उजागर गर्न नदीका नाउँको महत्व हुन्छ, यसबारे नगर नेतृत्वको ध्यान पुगोस् ।”

टुटेश्वरबारे बढेको चौतर्फी चासो यसको विकासमा सहयोगी हुने स्थायीय बासिन्दासमेत रहनुभएका मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री शारदादेवी थापाको विश्वास छ । “मधेसको कैलास भनिएर पनि यसको चर्चा फैलिएको छ, तीनै तहका सरकार मात्र नभएर सामाजिक तथा धार्मिक संस्थाले पनि चासो बढाएका छन्” थापा भन्नुहुन्छ, “यो चासोलाई नगरको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिले समुचित समन्वय गर्नुपर्छ ।” यस ठाउँको विकासमा प्रदेश सरकारको निरन्तर साथ रहने थापाको प्रतिबद्धता छ ।

टुटेश्वरमा अहिले विशिष्ट व्यक्तित्वहरुको बाक्लै अवलोकन तथा धार्मिक यात्रा बन्ने गरेको छ । मधेस प्रदेशका पूर्वमुख्यमन्त्रीहरु सतिशकुमार सिंह र सरोजकुमार यादवले कैयौँपटक मन्दिरमा पूजा आराधना गरेर यहाँको विकासबारे चासो राख्नुभएको बर्दिबास–५ का वडा अध्यक्ष काहारमान स्याङ्वा सम्झनुहुन्छ । यसैगरी, प्रदेश सरकारका मन्त्रीहरु, विभिन्न धार्मिक मठका मठाधीश र वरिष्ठ अधिकारीहरु धार्मिक यात्रामा यहाँ आउनुभएको स्याङ्वा बताउनुहुन्छ । आफ्नो ठाउँमा विशिष्ट व्यक्तित्वको सघन आगमन र यस ठाउँको संरक्षण/सम्वद्र्धनबारे व्यक्त हुने चासोले टुटेश्वरवासी दङ्ग देखिन्छन् । “ठुलाबडाहरु बाक्लै आउजाउ गर्छन्, अब यहाँका लागि केही होला भन्ने आश बढेको छ” टुटेश्वर बस्तीका यतिराज काफ्ले भन्नुहुन्छ । काफ्लेसँगै यहाँका आम बासिन्दामा अब आफ्नो ठाउँले सकारात्मक फड्को मार्ने विश्वास जागेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>